केही श्लोकहरू : शम्भुप्रसाद गजुरेल (कुनाघरे काहिंलो)

केही श्लोकहरू : शम्भुप्रसाद गजुरेल (कुनाघरे काहिंलो)

कपन अनलाइन
काठमाडौं, फागुन २०।

नेता पिडक हो भन्ने, ज्ञान हुन्छ सबै तर
निन्द्रामा हिड्न लागे झैँ, लाग्छौं पछि निरन्तर ।

डोरो मालिकले तान्छ,नाच्दछ पुतली तल
प्रभुको पाउमा तालु, राखेमा हुन्छ मंगल ।

जान्छन् कुमार यात्रामा, गणेश चाकरी तिर
जित गणेशको पक्का, हार्छन् कुमार आखिर ।

आशीर्वाद लिने होड, मच्चिन्छ जब तोडले
क्रान्तिका पथ भत्किन्छन्, हुर्किन्छन् दास जोडले ।

स्वाभिमान सँगै बोक्ने, बानी छैन कठै अब
परजीवी बनी बाच्ने, कार्यकर्ता बने सब ।

असन्तुष्टि भयो ढोक्सा, सत्य बिचार मारियो
नौनी सुटुक्क छोपेर, बोसो सर्लक्क खारियो ।

अगेनामा बसेकाले, शुद्ध घिउ भनेपछि
बोसोको घिउ चोखो भो, मान्छे लास बनेपछि ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।