शुरु भयो गोकर्णेश्वर ९ बाट ज्येष्ठ नागरिकको घर दैलो स्वास्थ्य परिक्षण
कपन अनलाइन
काठमाडौँ, माघ २७ । गोकर्णेश्वर नगरपालिकामा जनता संग मेयर स्वास्थ्य कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण घरदैलो कार्यक्रम शुरु भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ९ बाट शुरुवात गरिएको सो कार्यक्रम नगरपालिकाको सबै वडामा संचालन गरिने नगरपालिकाले जनाएको छ ।
वडा नं ९ मा नगर प्रमुखदिपक कुमार रिसाल र उपप्रमुख सान्नानी लामाले स्वास्थ्य सामग्री हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेको सोकार्यक्रममा प्रमुख प्रशाशकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिव थापा, वडा सदस्यहरु उमेश चालिसे, श्रीकृष्ण कारञ्जित, लक्ष्मी गुरुङ, गमला कुमारी परियार, स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय लगायत स्वास्थ्यकर्मीको उपस्थिति रहेको कार्यक्रम संचालन वडा सचिव संगीता बरालले गरेकी थिइन् ।
कार्यक्रमलाई संबोधन गर्दै नगर प्रमुख दिपक कुमार रिसालले नगरका सबै ज्येष्ठ नागरिकहरुलाई घर घरमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले जनतासंग मेयर घरदैलो कार्यक्रम शुरु गरिएको बताए । नगरपालिकाले समय समयमा अस्पतालको पहुँचबाट बाहिर रहेका स्थानीयका लागि नगरपालिका भित्र रहेका प्रत्येक वडामा मुख्य बस्ती टोलमा डाक्टर, स्वास्थ्यकर्मी र औषधी उपचार सहितको स्वास्थ्य शिविर समेत संचालन गर्दै आएको जानकारी गराएका थिए निःशूल्क स्वास्थ्य सेवा पाउनु जनताको अधिकार र चाहना भएको बताउदै स्वास्थ्यलाइ प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिरहेको बताएका थिए । नगरपालिकाले ज्येष्ठ नागरिकका लागि नेपाल मेडिकल कलेज र अर्थोपेडिक अस्पताल संग उपचारमा छुटको लागि सम्झौता गरेको समेत जानकारी गराएका थिए।
जनताका लागि भौतिक पूर्वाधारको विकासको साथसाथै मानव विकासको महत्वपूर्ण आयामहरुलाई सँगसँगै लिएर जाने पनि उनले बताए ।कार्यक्रमलाइ नगर उप प्रमुख सान्नानी लामा वडा अध्यक्ष राजीव थापा लगायतले सम्बोधन गर्दै निःशूल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रमबाट अस्पतालको पुहँचबाट टाढा रहेका ज्येष्ठ नगरबासी लावान्वित हुने बताए ।