बुढानिलकण्ठमा भव्य बन्यो संयुक्त ल्ह्योछार/ल्ह्योसार कार्यक्रम
कपन अनलाइन
काठमाडौँ, माघ ९ ।
बुढानिलकण्ठ नगरपालिका सोनाम ल्होछारको अवसरमा आयोजना गरेको संयुक्त कार्यक्रम भव्य बनेको छ ।
बाघ वर्ष अर्थात (ते ल्हो) लाई बिदाई गर्दै बिरालो वर्ष (हि ल्हो) मा प्रवेश गरेको अवसरमा वडा नं ८ को गोल्फुटार मैदानमा भव्य कार्यक्रमको आयोजना गरिएको हो ।
बुढानिलकण्ठ नगरपालिकामा पहिलो पटक विभिन्न समुदायहरु जसमा गुरुङ्ग, शेर्पा, तामाङ्ग लगायतको (तमु, सोनाम र ग्याल्बो) संयुक्त ल्होछार/ ल्होसार धुमधामले मनाइएको हो ।
नगरपालिकाभित्र रहेका विभिन्न जातजाती, भेषभुषा, कला, संस्कृति, नाच तथा विभिन्न सांस्कृतिक विविधतालाई झल्काउन र प्रवर्द्धन गर्नका निमित्त आयोजना गरिएको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राई प्रमुख अतिथि रहेका थिए।
नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य मिना पराजुली, बागमती प्रदेश सभाका पूर्व सदस्य दिपक निरौला, र सीता लामा, नगरपालिकाका पूर्व नगर उप-प्रमुख रमा देवी राई लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा नगरपालिकाका विभिन्न स्थान तथा समुहहरुद्वारा आफ्नो मौलिकता झल्काउने नृत्य, झाँकी तथा भोम्बो नाच, तामाङ्ग सेलो, कौडा, शेर्पा नाच, किराँत राई यायोक्ख, नेवार समुयदायहरुको बाँसूरी खलः को प्रस्तुति लगायत सामुहिक तथा एकल प्रस्तुतिहरु रहेका थिए।
बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाको संयोजकत्वमा रहेको मूल व्यवस्थापन समितिले आयोजना गरेको सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, वडाका सदस्यहरु, नगरपालिकाका कर्मचारीहरु लगायत विभिन्न राजनैतिक दल तथा संघ-संस्थाहरुका विभिन्न व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो।