बागमती २–० ले विजयी

कपन अनलाइन
काठमाडौं, पुस १२ ।
बागमती प्रदेशको महिला टोलीले बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखलाको निर्धारित ४० ओभरको २ खेलको श्रृंखला २–० ले सोमबार जितेको   छ ।
मूलपानी क्रिकेट मैदानमा भएको दोश्रो खेलमा बागमतीले हङकङ क्रिकेट क्लबको महिला टोलीलाई ४ विकेटले पराजित गर्दै श्रृंख्ला २–० ले कब्जा गरेको हो । पहिलो ४० ओभरको खेलमा बागमतीले हङकङलाई २ विकेटले हराएको थियो ।
पहिले ब्याटिङ गरेको हङकङले २५ ओभरमा अलआउट हुँदै १०१ रन बनाएको थियो । हङकङकी कप्तान क्यारी च्यानले २२, इम्मा लाइले १६ र हेली लुइले १४ रन जोडे । बागमतीकी खुशी डंगोल र सोनी पाख्रिनले ३–३ तथा कप्तान अस्मिना कर्माचार्यले २ र विपिशा शाहीले १ विकेट लिए ।
जवाफमा बागमतीले २९.२ ओभरमा ६ विकेट क्षतिमा १०२ रनको विजय लक्ष्य हासिल गर्यो  । बागमतीका सोनी पाख्रिनले २७, कञ्चन श्रेष्ठले २५ र सलिना सिलवालले अविजित २१ रन प्रहार गरे । हङकङका बेट्टी च्यानले ३, इम्माले २ र क्यारीले १ विकेट हात पारे ।
बागमतीकी सोनी ‘वोमन अफ म्याच’ घोषित भइन् । पहिलो खेलमा पनि सोनी नै ‘वोमन अफ द म्याच’ बनेकी थिइन् ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भइरहेको श्रृंखलाअन्तर्गत अब बागमतीले हङकङसंग २ टी– २० खेल खेल्ने छ । पहिलो खेल मंगलबार तथा दोश्रो बिहीबार हुनेछ ।

तपाइँको प्रतिक्रिया ।