आज चन्द्र ग्रहण लाग्दै

आज चन्द्र ग्रहण  लाग्दै

कपन अनलाइन

काठमाडौं कात्तिक २२ । आज चन्द्र ग्रहण लाग्ने भएको छ।बेलुकी ०५११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पुरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गमा’ मा उल्लेख छ।

बेलुकी ५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिने छ। बेलुकी ५:२७ बजे ग्रहणको उन्मीलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए । बेलुकी ०६:३४ बजे ग्रहण सकिन्छ । १ घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ । चन्द्र ग्रहणको ९ घण्टा अघिदेखि सूतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले बताए।

२२ कात्तिक बिहान ०८:११ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ। बेलुकी ०६:३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले जानकारी दिए।

ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । यसअघि ८ कात्तिक मङ्गलवार कार्तिक कृष्ण औँसीका दिन सूर्य ग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लागेको छ।

फोटो : सामाजिक संजाल

तपाइँको प्रतिक्रिया ।