काठमाण्डौ क्षेत्र नं ४ का जनताले परिवर्तन खोजेका छन,गगन थापालाई हराउछु : डा.राजन भट्टराई
कपन अनलाइन
काठमाडौं, २९।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेस विभाग प्रमुख डा. राजन भट्टराईले काठमाण्डौ क्षेत्र नं ४ का जनताले परिवर्तन खोजेको बताएका छन।
बुढानिलकण्ठ नगरपालिकामा आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा बोल्दै डा.भट्टराईले करिव डेढ दशकदेखि काठमाण्डौ क्षेत्र नं ४ को नेतृत्व गरेको नेपाली कांग्रेसको बिकल्प जनताले खोजेको बताउदै यस पटक महामन्त्री गगन थापालाई पराजित गर्ने धारणा राखेका छन।
२०६४,२०७० र २०७४ को निर्वाचनमा नेपाली कांग्रेसलाई जिताएका क्षेत्रका जनताले २०७९ सालको निर्वाचनमा परिवर्तन चाहेको बताउदै डा. भट्टराईले क्षेत्रको विकासमा नेकपा एमालेले निर्वाह गरेको भूमिकाका कारण स्थानीय तहको निर्वाचनमा विजयी प्राप्त गरेको र आउने प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेले जित्ने बलियो आधार बनेको विचार व्यक्त गरेका छन।
त्यस्तै एक टेलिभिजन अन्तर्वातामा पनि बोल्दै उनले पछिल्लो समय चुनाव आउन २ महिना बाँकी हुँदा डुवान ,बाढी र अन्य जनताका विषयहरु उठाएर पुन जनता झुक्काउने प्रपन्च सुरु भएको धारणा राख्दै डा.भट्टराईले अनेकौ प्रचारमुखीकाम गर्नुभन्दा करिव १४ वर्षको कार्यकालमा के के काम भए त्यो बताउन जनताले माग गरिरहेको बताएका छन।
करिव १४ वर्षमा आफ्नो निर्वाचन क्षेत्रमा देखाउन मिल्ने कुनै पनि काम नगरेका नेताले देशको प्रधानमन्त्री बन्छु भन्ने कुराको कुनै तुक र अर्थ नरहेको भन्दै उनले आफ्नो पहल र प्रयासमा क्षेत्र नं ४ मा भएका कामहरुको विवरण सहित चुनावी मैदानमा जाने घोषणा समेत गरेका छन।
काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एमालेको तर्फबाट सर्वसम्मत सिफारिस भएका डा.भट्टराईले स्थानीय तहको निर्वाचनमा प्राप्त मतका आधारमा नेकपा एमालेको स्थति मजबुत रहेको दावी गर्दै यस पटक क्षेत्रका जनता परिवर्तनका पक्षमा उभिनेमा विस्वस्त रहेको बताएका छन।