गोकर्णेश्वर ३ गाम्चा जगडोलमा मनाइयो रोपाइँ जात्रा
कपन अनलाइन
काठमाडौं साउन ३०। गोकर्णेश्वर नगरपालिका वडा नं ३ गाम्चा जगडोलमा रोपाइँ जात्रा मनाइएको छ । बुधबार हरेक वर्ष झै यसबर्ष पनि रोपाइ जात्राले निरन्तरता पाएको हो। एक बर्षभित्र मृत्यु भएकाका घरबाट लाठे रोपार निकाली रोपाइँ जात्रा मनाउने प्रचलन छ । ‘यसो गर्दा मृतकको आत्माले शान्ति पाउने विश्वास छ’ ।नेवार समुदायको बाहुल्य रहेको गाम्चामा झाँकी बाजा सहित रोपाइँ जात्रामा खेतमा छ्यापेको हिलोको प्रतीकका रूपमा विभिन्न रङ दली सांस्कृतिक झाँकीसहित रोपाहारले रोपेको र बाउसेले बाउसे गरेको अभिनय गर्दछन् ।
साउनको महिना खेतीपाती सकेर फुर्सदको समयमा मनोरञ्जन गर्न गाईजात्रासँगै रोपाइँ जात्रा गर्ने परम्परा रहेको छ । रोपाइँ जात्रामा पुरुषलाई सिंगारेर महिला बनाई गाउ परिक्रमा गराउने परम्परा समेत रहेको छ। पहिलेकै जसरी जात्रा सञ्चालनमा आए पनि समयसँगै केही प्रभावित भएको स्थानीय बताउछन । रोपाइँ जात्रालाई नयाँ पुस्ताले कम चासो दिन थालेको संस्कृतिको संरक्षण गर्ने खालको मात्र काम भएको स्थानीय बताउछन । सायद पछिल्लो समयमा खर्चिलो भएर पनि विगतजस्तो भने मानिसहरूको सहभागिता र मनोरञ्जन कम हुने गरेको उनीहरुको गुनासो रहेको थियो।