चीनका कार्यबाहक राजदुत द्वारा वी पी संग्रहालयको अवलोकन

चीनका कार्यबाहक राजदुत द्वारा वी पी संग्रहालयको अवलोकन

कपन अनलाइन

काठमाडौं असार २४ । छिमेकी मित्रराष्ट्र  चीनका महामहिम कार्यबाहक राजदुत वाङ चु र उनका सहयोगीले गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजलमा रहेको वी पी संग्रहालयको अवलोकन भ्रमण गरेका छन । कार्यबाहक राजदुत वाङ चु र उनका सहयोगीलाइ वी पी संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले स्वागत गर्नुको साथै संग्राहलयको अवलोकन गराएका थिए । संग्राहलयका अध्यक्ष पोखरेलका अनुसार यस अघि पनि चिनिया राजदुतहरुबाट पनि संग्राहलय भ्रमण अबलोकनका कार्यहरु हुने गरेको जानकारी गराएका छन। साथै आज भएको भ्रमण  चिनियाँ कम्युनिष्ट पार्टी बिदेश बिभागका उच्चपदस्थ पदाधिकारीको निकट भबिष्यमा हुने  वी पी संग्रहालय भ्रमणको तयारी सम्बन्धमा केन्द्रित  रहेको पनि उनले बताएका छन ।

वि.सं. २०१७ सालको ‘कू’ पछि अपदस्थ प्रधानमन्त्री वी.पी. कोइराला  सहितका नेपाली काँग्रेसका नेताहरु गणेशमान सिंह , कृष्णप्रसाद भट्टराई , रामनारायण मिश्र , दीवानसिंह राई , जमानसिंह गुरुङ , योगेनाद्रमान शेरचन , प्रेमराज आङ्दम्बे , सूर्यप्रसाद उपाध्याय र शिवराज पन्तलाई तत्कालीन राज्य प्रशासनले सो सुन्दरीजल जेलमा राखेको थियो । ५ रोपनी  क्षेत्रफलमा कम्पाउण्ड रहेको सो जेललाई पछि वी.पी. संग्रहालयमा रुपान्तरण गरिएको थियो । यही जेलमा वी.पी. कोइराला , गणेशमान सिंह , कृष्णप्रसाद भट्टराईलाई ८ वर्ष राखिएको थियो । त्यहीँ बसाईका क्रममा नेपाली काँग्रेसका संस्थापक नेता तथा  पूर्वप्रधानमन्त्री वी.पी. कोइरालाको बहुचर्चित पुस्तक ‘जेल जर्नल’ लेखिएको थियो ।

 संग्रहालयमा नेपाली काँग्रेसका संस्थापक नेता  वी.पी. कोइरालाले प्रयोग गरेको बस्तुहरु , गणेशमान सिंहका लुगाहरु , तोप र २०३० साल अपहरण भएको जहाज लगायतका बिभिन्न ऐतिहासिक सामग्रीहरु संग्रहित छन । संग्राहलय परिसरमा नेपाली काँग्रेसका नेताहरु वी.पी. कोइराला , गणेशमान सिंह , कृष्णप्रसाद भट्टराई सहितका ६ जनाको शालिक निर्माण गरिएको छ।भूकम्पले क्षति पुर्याएको सो संग्राहलय हाल  पुननिर्माणको अन्तिम चरणमा पुगेको छ ।

तपाइँको प्रतिक्रिया ।