साविक कपन गाविसले नगद राहत अर्को हप्ताबाट बाँड्ने सम्भावना
कपन अनलाइन /जेठ-१९
अशोकराज पाण्डे , साविक कपन गाविस एंव हालको बुढानीलकण्ठ नगरपालिका संयुक्त वडा कार्यालय १२, १३ र १४ ले अर्को हप्ताबाट नगद राहत बाँड्ने सम्भावना रहेको छ ।
नेपाल सरकारले घर पूर्ण रुपमा क्षतिग्रस्त भई अन्यत्र बैकल्पिक बासस्थान नभएकाहरुका लागि पहिलो चरणमा अस्थायी बासस्थान बनाउन दिने भनिएको नगद रु. १५ हजार बाँड्नमा भएको ढिलाईको जनस्तरमा कुरा चलिरहेको बेला यस सम्बन्धि कपनअनलाइनले जिज्ञासा राख्दा संयुक्त वडा कार्यालयका सचिव श्याम अधिकारीले भने– पूर्ण क्षतिको विवरण टिपाउन बाँकी रहेकाले ढिला भएको हो । सम्भवतः अर्को हप्ताबाट बाँड्ने काम शुरु हुन्छ होला । उनले थप्दै भने भोली(जेठ २० गते)सम्म क्षतिको विवरण टिपाउन संयुक्त वडा कार्यालयले समय तोकेको छ । भोली वडा कमिटि, नागरिक वडा मञ्च र दलीय प्रतिनिधिहरुको संयुक्त बैठकले कहिले देखि नगद राहत वितरण गर्ने भन्ने निर्णय गर्नेछ । उनले भने थुप्रै व्यक्तिहरुको क्षतिको विवरण टिपाउन बाँकी रहेकाले हामीले समय थपेका हौँ ।
राजनीतिक खिचातानीले ढिला भएको त हैन भन्ने कपनअनलाइनका प्रश्नमा उनले भने त्यस्तो केहि होईन बुढानीलकण्ठ नगरपालिका वडा नं १२, १३ र १४ मा धेरै घर रहेको र क्षतिको पूर्ण विवरण नआईसकेकाले मात्र ढिला भएको हो । हामीले भोली जेठ २० गते बुधबार सम्ममा छुटेका आंशिक वा पूर्ण क्षतिको विवरण टिपाउन सम्पूर्ण नगरवासीलाई आग्रह गरका छौँ । विवरण संकलन भईसकेपछि हामी चाँडो भन्दा चाँडो नगद राहत वितरण गर्छौ ।
उनले कपन अनलाइन मार्फत नै सम्पूर्ण नगरवासीलाई नगरपालिकामा प्राविधिकको कमी भएकाले आफ्नो घर बस्न लायक छ कि छैन भन्ने कुराको जानकारी लिन आफैले प्राविधिक रुपमा चेक जाँच गराउन पनि उनले आग्रह गरेका छन् ।
कसरी बाँड्छ नगद राहत संयुक्त वडा कार्यालयले?
नगरपालिकाको १२, १३ र १४ को संयुक्त वडा कार्यालयले पूर्ण क्षति भएको विवरण नगरपालिका केन्द्रीय कार्यालय हुँदै गृह मन्त्रालयसम्म पठाएपछि गृह मन्त्रालय र नगरपालिका केन्द्रीय कार्यालयका प्रतिनिधिहरुले संयुक्त वडा कार्यालय वा ठाउँ ठाउँमा शिविर राखेर नगद बाँड्ने सम्भावना रहेको पनि संयुक्त वडा सचिव श्याम अधिकारीले बताए ।
बुढानीलकण्ठ नगरपालिकामा अहिलेसम्म कहाँ कहाँ बाँडियो राहत ?
जेठ १९ गतेसम्ममा साविक महाँकाल गाविस एंव हालको बुढानीलकण्ठ नगरपालिका वडा नं ९, १० र ११ ले पहिलो चरण अन्र्तगतको नगद १५ हजार राहत बाँडिसकेको छ । हेर्नुहोस यस सम्बन्धित समाचार
त्यस्तै भोली बुढानीलकण्ठ नगरपालिका वडा नं ७ र ८ ले नगद राहत बाँड्ने पनि बताइएको छ ।
धरासायी घरहरु के हुन्छ ?
आर्थिक रुपमा अत्यन्तै कमजोर भएका मानिसहरुको धरासायी घरलाई बुढानीलकण्ठ नगरपालिका आफैले दक्ष प्राविधिकको सहयोगमा भत्काउने काय गरिरहेको छ । यदि नगरपालिका भित्र कुनै घर धरासायी छ र घर धनीको आर्थिक अवस्था कमजोर छ भने नगरपालिकामा निवेदन दर्ता गरेर आफ्नो धरासायी घर भत्काउन सकिने पनि नगरपालिकाले बताएको छ । आर्थिक अवस्था कमजोर प्रमाणित भएमा मात्रै नगरपालिकाले सहयोग गर्ने पनि बताइएको छ । त्यस्तै धेरै तल्ला भएका घर भत्काउनका लागि नेपाल सरकारसँग पनि प्राविधिक औजार नभएका कारणले नगरपालिकाले पनि यो कार्य गर्न नसक्ने कुरा पनि बताईएको छ ।