शंखरापुर नगरपालिका द्वारा लघु उद्यमीलाई प्राबिधिक उपकरण हस्तान्तरण

शंखरापुर नगरपालिका द्वारा  लघु उद्यमीलाई प्राबिधिक उपकरण  हस्तान्तरण
कपन अनलाइन 
 काठमाडौँ,असार २३ । शंखरापुर नगरपालिकाले  तालिम प्राप्त लघु उद्यमीलाई आवश्यक प्राबिधिक उपकरण   हस्तान्तरण गरेको  छ । बुधबार साँखुमा आयोजित एक कार्यक्रमका बिच नगरप्रमुख रमेश नापितले तालिम प्राप्त ९५ जना  लघु उद्यमीलाई  आवश्यक प्राबिधिक  उपकरण  हस्तान्तरण गरेका हुन् ।शंखरापुर नगरपालिकाको आयोजनामा नेपाल सरकारको सशर्त अनुदान कार्यक्रम अन्तर्गत गरिबी निवारणका लागि लघु उद्यमी विकास कार्यक्रम २०७९ (म्येडपा कार्यक्रम) को प्रविधि हस्तान्तरण कार्यक्रम गरिएको शंखरापुर नगरप्रवक्ता एवं वडा नंबर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले  जानकारी दिए ।
कार्यक्रममा नयाँ तथा पुराना गरी ९५ जना लघु उद्यमीहरु लाभान्वित हुनेगरी प्रविधिमा पहुँच पुर्याउन  विभिन्न ५ समूहहरुलाई त्यस्ता सामग्री हस्तान्तरण गरिएको उनले जानकारी गराए  । लघु उद्यमीहरुलाई मिनी हाते ट्याक्टर, कम्बाइन मिल, सिलाई मेसिन, लप्सि छोडाउने मेसिन, प्लाष्टिक टनेल लगायतका सामग्रीहरु वितरण गरिएको हो ।प्रविधि हस्तान्तरणका क्रममा नगरप्रमुख नापितले आफूले सिकेको सीप तथा प्राप्त गरेको प्रविधिको सहि प्रयोग र सदुपयोग गर्दै आत्मनिर्भर बन्न सुझाव दिए । उनले आफूले सिकेको ज्ञान अरुलाई पनि बाँढ्न र प्राप्त प्रविधिबाट उत्पादन बृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।दिएको उपकरणलाई आफैंले किनेको सोचेर उपयोग गर्न आग्रह  गरेका थिए  ।स्थानीयस्तरमा स्वरोजगार बनाउने उदेश्यका साथ उनीहरुलाई ८ दिनदेखि ३ महिनाको तालिम पछि प्रविधि हस्तान्तरण गरिएको प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा नगरप्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, वडा अध्यक्ष एवं नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठ, वडा नंबर ३ का अध्यक्ष सुर्यमान तामाङ तथा कार्यपालिकाका सदस्यहरुको उपस्थिती रहेको थियो  । कार्यक्रममा तालिम हासिल गरेका उद्यमीहरुलाई नगरप्रमुख नापितले प्रमाणपत्र वितरण गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।