बुढानिलकण्ठ नगरपालिका प्रमुख पदको उम्मेदवारी दौडमा विदुर विक्रम खड्का
कपन अनलाइन
काठमाडौँ, चैत्र १८।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य विदुर विक्रम खड्का २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाको प्रमुख बन्ने दौडमा सक्रिय बनेका छन।
चार दशक भन्दा बढी नेकपा एमालेमा निरन्तर सक्रिय रहे पनि हाल सम्म कुनै पनि लाभको पदमा अवसर नपाएका खड्का यस पटक बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका तर्फ बाट प्रवल दावेदारका रुपमा रहेका छन।
बुढानिलकण्ठ नगरपालिकामा सर्वदलीय संयन्त्रको प्रतिनिधि हुँदा गरेको काम र लिएको पहलकदमीका कारण “विदुर बेग” को उपनाम पाएका खड्काले पंचायत कालिन अवस्था देखि नै कम्युनिस्ट आन्दोलनको विस्तारमा योगदान पुर्याएका थिए।
हाल नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को संयोजक रहेका खड्काले आफ्नो सामाजिक संजाल मार्फत बुढानिलकण्ठ विकासको अवधारणा समेत सार्वजनिक गर्दै आएका छन।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका पुर्व कार्यालय सचिव समेत रहेका खड्काले नगरपालिकाका धेरै शाखा कमिटी र जन संगठनहरुको आफुलाई समर्थन रहेको बताउदै यस पटक पार्टीले मौका दिनेमा विस्वस्त रहेको धारणा राखेका छन।