बालउद्दार,शिक्षकको यौन दुर्व्यवहार र राजनीति…
कपन अनलाइन
काठमाण्डौ ,माघ २६ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको बालउद्दार नमुना मावीमा अहिले एक शिक्षकले विद्यार्थी माथि गरेको यौन दुर्व्यवहारको काण्ड निकै चर्चामा रहेको छ।
विद्यालयका अंग्रेजी शिक्षक विष्णुगोपाल घिमिरेले सोहि विद्यालयकी कक्षा ….( नाम र परचिय गोप्य राखिएको छ ) मा अध्ययन गर्ने एक छात्रामाथि यौन दुर्व्यवहार गरेको निवेदन विद्यालयमा परेको करिव २ महिना पछी सो विषय सार्वजनिक चर्चाको विषय बनेको छ।
नियमित कक्षा नलिएको र कार्यसमयमा विषय भन्दा बाहिरका कुराहरुमा बढी ध्यान दिएको भन्दै मावी तहबाट प्रावी तहमा शिक्षणका लागि पठाइएका घिमिरेले यौन दुर्व्यवहार गरेको उजुरी विद्यार्थी तथा अभिभावकहरुले गरेका थिए।
विद्यार्थी र अभिभावकहरुको निवेदन आएपछि आरोपित शिक्षकलाई स्पष्टीकरण सोधेको विद्यालयले यस विषयमा प्रहरी संग छलफल गरे पनि कानुनी प्रक्रिया भने अगाडी बढाएको थिएन।
प्रहरी संगको परामर्शमा सार्वजनिक स्थलमा भएको यौन दुर्व्यवहारको मुद्दा चलाउदा प्रमाणको अभाव हुने देखिएको भन्दै विद्यालयले सम्बन्धित निकायमा पत्राचार गरेको विद्यालय यस विषयमा लामो समय सम्म अनिर्णित बनेपछि यो काण्ड अहिले सामाजिक संजाल,संचार माध्यम हुदै सर्वदलीय बैठक सम्म पुगेको छ।
विद्यालयमा आएको अंग्रेजी मावी शिक्षकको दरवन्दीको लोभ गरेर विद्यालयले आरोपित शिक्षकलाई कारवाही रोक्नु नहुने भन्दै माघ २५ गते विद्यालयमा भएको सर्वदलीय बैठकमा स्थानीय नेताहरुले कारवाहीमा भएको ढिलाईका वारेमा प्रश्न समेत उठाएका थिए। तर उनीहरु पनि ठोस निस्कर्षमा पुग्न नसक्दा भोलि बिहिवार पुन : बैठक बस्ने गरी उठेका थिए। नेकपा एमाले,नेकपा माओवादी केन्द्र,नेकपा (विप्लव ) लगायतका दलको सहभागिता रहेको सो बैठकमा नेपाली कांग्रेस भने अनुपस्थित रहेको थियो।
नगरपालिकाको महत्वपूर्ण शैक्षिक संस्था जसले नमुना विद्यालयका रुपमा पहिचान स्थापना गर्न खोजिरहेको छ त्यसको गरिमामा नै असर पुग्ने घटना शिक्षकबाट हुनु दुखद भएको भन्दै एक अभिभावकले घटना बढेर राजनीतिकरण हुनु झन् अप्रिय रहेको धारणा राखेका छन।
लामो समय सम्म राजनीतिक दलले गरेको भागबन्डाका आधारमा विद्यालय व्यवस्थापन समिति,प्रधानाध्यापक,शिक्षक,सहायक प्रधानाध्यापक ( राजनीतिक दलका कोटा (!) मा तिन जना लामो समय सम्म जिम्मेवारीमा ) चयन गर्ने अभ्यास गरेको सो विद्यालयका सानाठुला मुद्दाहरु चर्चामा आउने गरेको तर अहिलेको विषय निकै गम्भीर रहेको ति अभिभावकको ठहर रहेको छ।
विद्यालयमा भएको यौन दुर्व्यवहारको घटना सार्वजनिक भएपछि परेको नकारात्मक असरलाई निकै न्यूनिकरण गर्ने र समस्या समाधान गर्ने विषय सर्वदलीय बैठकमा पुग्दा सम्म यसले पारेको असरको आगोमा राजनीतिक रोटी सेक्नु भन्दा आरोपित शिक्षकलाई प्रचलित कानुन अनुसार कारवाही प्रक्रिया अगाडी बढाउनुका साथै कठोर मानसिक प्रताडना भोगेकी पिडित छात्रा र उनका अभिभावकहरुको मनोबल बढाउने प्रयास गर्नु उचित हुने विद्यालय व्यवस्थापन समितीका एक पुर्व सदस्यले बताएका छन।