गोकर्णेश्वर नगरपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता शुरु
कपन अनलाइन
काठमाडौँ, माघ २० । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरपालिका बाट राष्ट्रिय परिचय पत्रको लागि फोटो खिचाएर राष्ट्रिय परिचयपत्र दर्ता कार्यक्रमको शुभारम्भ गरेका छन । सरकारले राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण गर्न शुरु गरे संगै काठमाडौँ जिल्लाको ५ वटा नगरपालिका र देशभर अन्य २८ वटा पालिकाहरूबाट यो सेवा शुरु भएको छ । यसैगरी अन्य पालिकाहरूमा पनि क्रमशः सेवा सञ्चालन गर्ने गृह मन्त्रालयको तयारी रहेको छ ।
यसभन्दा अघि परिचयपत्र जिल्ला प्रशासन कार्यालयबाट मात्र वितरण हुने हुँदा सेवाग्राहीको अत्यधिक भिड रहने गर्दथ्यो । रातभर लाइनमा बस्न बाध्य भएका सेवाग्राहीहरू अब राष्ट्रिय परिचयपत्र बनाउन सास्ती खेप्नु पर्ने झन्झटबाट मुक्त हुने बिश्वास गरिएको छ । नगरपालिकाले २०७८साल माघ १७ गते देखि नेपाली राष्ट्रिय परिचय वितरणको लागि बिवरण प्रविष्ट गर्ने कार्य संचालन भएको हुँदा स्थायी बासिन्दा तथा तत्काल विधुतीय राहदानी बनाउन आवश्यक भएका नागरिकहरुले आवश्यक कागजात सहित कोभिड १९ नियन्त्रण तथा रोकथाम सम्बन्धमा नेपाल सरकारले जारी गरेको सम्पूर्ण स्वास्थ्य मापदण्डहरु अनिवार्य पालना गरि आफ्नो उपस्थिति जनाई बिवरण प्रविष्ट गराउन समेत नगर प्रमुख चालिसेले जानकारी गराएका छन । गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटीमा आवश्यक कागजात सहित उपस्थित हुन समेत उनले अनुरोध गरेका छन । नगरपालिकाले समेत सोको जानकारी सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ ।
आवश्यक कागजातहरु
१)नेपाली नागरिकताको प्रमाणपत्र सक्कल र प्रतिलिपि
२ ) राहदानी लिएको भए सो को सक्कल र प्रतिलिपि
३ ) बसाइ सराइ भइ आएको हकमा उक्त बसाइसराइ प्रमाणको सक्कल र प्रतिलिपि
४ ) विवाहितको हकमा नागरितामाप्रमाणपत्रमा पति पत्नीको नाम उल्लेख नभएमा बिवाह दर्ता प्रमाणको सक्कल र प्रतिलिपि
५) एकल महिलाको हकमा पति मृत्यु दर्ताको सक्कल र प्रतिलिपि ।