गौर तनावग्रस्त, सशस्त्र बेस क्याम्पमा पेट्रोल बम प्रहार
चैत्र २३, काठमाडौँ । बिगत केही दिन देखि मालपोत तथा नापीको सेवा केन्द्रको बिषयलाई लिएर गौरमा चर्किएको आन्दोलन झन् हिंसात्मक बन्दै गएको छ । आन्दोलनकारीले आज शसस्त्र प्रहरीको बेलबिछुवा बेस क्याम्पमा पेट्रोल बम प्रहार गरेका छन् । बम प्रहारपछि आगो लागेको भए पनि अहिले आगो नियन्त्रणमा आएको छ । आन्दोलनकारीहरुले क्याम्प घेराउ गर्दै ढुङगामुढा गरेका थिए भने क्याम्प आसपासको संरचना तोडफोड गरेका छन्।
गौरका एक स्थानीयको घाँटी रेटेर हत्या भएको सूचना बाहिर आएपछि गौर आन्दोलनले झन् हिंसात्मक मोड लिएको हो । गएराति आन्दोलनकारीसंग भएको वार्ता सफल हुन नसकेपछि आन्दोलनकारीले फेरि प्रदर्शन सुरु गरेका हुन् । आन्दोलनकारीले सशस्त्र प्रहरीको सवारीको ठक्करबाट मृत्यु भएका रामआशिष ठाकुरलाई शहीद घोषणा नगरेसम्म अरु मागका बारेमा छलफल नगर्ने अडान लिएपछि वार्ता निष्कर्षहीन भएको हो ।
उता, सरकारले कार्यालय विस्तारको निर्णय फिर्ता लिएको भन्दै चन्द्रनिगाहपुरका बिद्यार्थी संगठनहरुले आन्दोलन सुरु गरेका छन् । उनीहरुले आज पनि पूर्वपश्चिम राजमार्गमा एक घण्टा चक्काजाम गरे । बिद्यार्थीले सरकारले निर्णय लागू नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिद्यार्थीको आन्दोलनमा उद्योगी, ब्यापारी, नागरिक समाजले साथ दिएका छन्