साँखुमा लाग्ने माधव नारायण श्री स्वस्थानी व्रत मेला नित्य पूजा र धार्मिक विधि मात्र पुर्याई सम्पन्न गरिने
कपन अनलाइन
काठमाडौं पौष २९। शंखरापुर नगरपालिका साँखुमा लाग्ने एक महिने माधव नारायण श्री स्वस्थानी व्रत मेला नित्य पुजा र धार्मिक बिधि पुर्याउदै निरन्तरता दिइने भएको छ।श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले बुधबार शालिनदि परिसरमै संचारकर्मीहरुसँग कुरा गर्दै यस वर्ष कोभिड–१९ को ओमिक्रोनको प्रकोपलाई ध्यानमा राखेर परापुर्वदेखि संचालन हुँदै आइरहेको माधवनारायण व्रत नित्य पुजा आजा एवं धार्मिक विधि पुर्याएर सीमित व्रतालु मात्र राख्ने बताए । उनले भने, ‘यस वर्ष कोभिड १९को ओमिक्रोन भेरियन्टको प्रकोप बढ्दै गईरहेको अवस्थालाई मध्यनजर राखेर भक्तजनहरुको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवानको दूर दर्शनको व्यवस्था गरिनेछ ।
भक्तजन र व्रतालुहरुबीच कम्तीमा २ मीटरको दूरी कायम हुने गरी बार बन्देज गरिनेछ ।’ साँथै उनले सम्पूर्ण व्रतालुहरुसँग पूर्ण खोप लगाइएको कार्डको कपी लिईने र निमोनिया भए नभएको एकिन गर्न एक्सरे लिने समेत व्यवस्था गरिएको बताए । आवश्यक भए एण्टीजोन परीक्षणको व्यवस्था समेत समिति आफैले गर्नेसमेत उनले जानकारी दिए । मेला अवधिभर स्वयमसेवक , व्रतालु र भक्तजनहरुबीच भौतिक दुरी, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षाका उपायहरुलाई पनि कडाईकासाथ लागू गरिने पनि समितिका अध्यक्ष श्रेष्ठले जानकारी गराए।
शान्ति सुरक्षा सम्बन्धी व्यवस्थापनमा शालिनदी परिसरभित्र विभिन्न ठाउँमा सीसी टिभी क्यामेराको व्यवस्था मिलाउने प्रबन्ध गरिएको बताउदै अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले भने, ‘सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी एवं महानगरीय प्रहरी प्रभाग साँखु अन्तर्गत विशेष प्रहरी टोली परिचालन गर्ने निर्णय गरिएको छ ।’ यस वर्षको स्वस्थानी व्रत मेलाकोक्रममा माघ २ गते ‘चिभ्वय् नयेगु’ अर्थात नुन भोज खाने कार्यक्रम रहेको छ भने ३ गतेबाट व्रत र पूजा शुरु हुँदैछ ।