द्रोपदी चिन्तन : मुक्तिनाथ शर्मा ( कविता )

द्रोपदी चिन्तन : मुक्तिनाथ शर्मा ( कविता )

कपन अनलाइन

काठमाडौँ, पौष १७।

म यौटा बिन्ति गर्दैछु सुन्नुहोस् कुन्तीनन्दन !
शोक बिह्वल भै ऐले पिरलिदैछु मन्मन
धर्मात्मा होस् कि ज्ञानीहोस् कर्तव्य गर्नपर्दछ
बिनाकर्तव्य बाच्छाले माउको दूध प्युँछ र ? ।।१।।

कर्ममा हक हाम्रो छ बिनाकर्म हुदैन क्यै
बिनाकर्म दया धर्म भनेर पाइदैन क्यै
कर्ममा लाग्छ जो मान्छे कर्मको फल पाउँछ
भाग्यका भरमा पर्ने अल्छीले दुःख पाउँछ ।।२।।

मान्छे जो कर्ममा लाग्छ परमेश्वर भेट्दछ
परमेश्वर नै प्राणीलाई कर्म गराउँछ
मान सम्मान वा धर्म पुरुषार्थी कमाउँछ
तीलमा तेल पाइन्छ काठमा अग्नि पाउँछ ।।३।।

हाम्रै जीवनमा हेरौं शत्रुले राज्य नै लियो
त्यतिमात्र पनि हैन अनेक यातना दियो
यातनाबाट उम्केर राज्य फिर्ता गराउँन
सुकर्म गर्नु नै पर्छ पापीलाई हटाउँन ।।४।।

कर्मगर्दा फल कस्तो होला शोचनु व्यर्थ छ
कर्ममा हक हाम्रो छ फलमा हुन्न वास्तव
तापनि कर्म गर्नु रे शास्त्रले नै सिकाउँछ
दहीमा नौनी जस्तै हो कर्ममा धर्म लिप्त छ ।।५।।

सुन्नुहोस् नाथ ! यो मेरो बिन्ति हो उपदेश हो
बिनाकर्म भई अल्छी रहनु धर्मनाश हो
तसर्थ भाग्यको आशा गरेर नबसौं अव
धर्मयुक्त गरी कर्मतिर लागौं सरासर ।।६।।

जुवाले धन सिध्यायो बनबास पनि भयो
अझै सत्य, दया धर्म हजुरमा रहिरह्यो
अझै कष्ट कति होलान् बिनाकर्म रह्यौं भने
धर्मसम्मतका कर्म गर्नै पर्दछ विज्ञले ।।७।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।