काठमाण्डौ महानगरपालिकाका निर्देशक सहित पाँच जना विरुद्ध भ्रस्टाचार मुद्दा दायर
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २९।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डौ महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटीसमेत ५ जना उपर गलत लिखत तयार गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोप-पत्र दायर गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नं १२, टेकुस्थित भवन निर्माण गर्न बिद्युतीय बोलपत्र प्रक्रियाबाट प्राप्त बोलपत्रहरुको मुल्यांकन प्रतिवेदनमा गलत लिखत तयार गरिएको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो।
अनुसन्धानमा ठेक्काको प्राविधिक मुल्यांकन प्रक्रियामा काठमाडौं महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटी, खरिद इकाई प्रमुख उप-निर्देशक बखतबहादुर साउद, उप-निर्देशक सुमन अधिकारी, उप-निर्देशक बीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीले गलत लिखित तयार गरी निर्माण व्यवसायी छनौट गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर देखिएकोले मूल्याङ्कन प्रक्रियामा सहभागी भई गलत लिखत तयार गर्नेहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको सजाय हुन मागदावी गर्दै बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।