प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरको राजिनामा माग गर्दै मानव अधिकार तथा शान्ति समाजको प्रदर्शन
कपन अनलाइन
काठमाडौँ, मंगसिर २४ । मानव अधिकार तथा शान्ति समाज काठमाण्डौ शाखाले अनैतिक प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको शिघ्र राजिनामा/बहिर्गमनको माग गर्दै आज काठमाण्डौको बौद्धमा शान्तिपूर्ण प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरुले ‘अनैतिक’ प्रधानन्यायाधीश : शीघ्र राजीनामा देऊ’, ‘प्रधानन्यायाधीशले राजीनामा नदिए महाअभियोग लगाऊ’, ‘वर्तमानको आवश्यकता: न्यायालयको शुद्धीकरण’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
मानव अधिकार संरक्षणका लागि स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायालय अत्यावश्यक भएको र अनैतिक प्रधान न्यायाधीश पदमा रहिरहनु आपत्तिजनक भएको हुँदा प्रधान न्यायाधीश जबराले शिघ्र राजिनामा दिनुपर्ने, राजिनामा नदिए बहिर्गमनका लागि महाभियोग लगाउन पनि शान्ति समाजले सम्वद्ध सबै दलहरुलाई आग्रह गरेको छ ।धर्नामा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रधानन्यायाधीशको कुकर्मले लोकतन्त्रको उपहास गरेको र यस्तो संवेदनशील विषयमा दलहरु मौन रहनु दलहरुको कमजोरी भएको बताए ।
कार्यक्रममा शान्ति समाजका सल्लाहकार एवं पूर्व सभापति अधिवक्ता होमकान्त चौलागाईले मानव अधिकारको संरक्षणका लागि अन्तिम निकायको रुपमा रहेको सम्मानित सर्वोच्च अदालतको नेतृत्वमा हाल विचलन आएकोले प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको शिघ्र बहिर्गमन आवश्यक भएको बताउँदै यसलाई न्यायालय शुद्धिकरणको प्रारम्भका रुपमा लिनुपर्ने बताए ।
समाजका सल्लाहकार एवं पूर्व सभापति उत्तम पुडासैनीले न्यायालयमा भएको राजनीतिक नियुक्ति, न्यायीक विचलन आदीका कारण न्याय क्षेत्र प्रदुषित भएको भन्दै न्यायालय शुद्धिकरणका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बहिर्गमन आवश्यक भएको धारणा व्यक्त गरेका थिए ।कार्यक्रममा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनाल, सल्लाहकार द्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, महासचिव रामकृष्ण बराल, सचिव नम्रता खरेल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु किरण ढकाल, उमा गौतम, काठमाण्डौ शाखा का.वा. सभापति भगवान पुडासैनी, अधिकारकर्मीहरु बटुकृष्ण ढुंगेल, ईश्वर पुडासैनी, प्रमोद फुयाल लगायतको सहभागिता थियो ।