अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइयो
कपन अनलाइन
काठमाण्डौ ,मंगसिर १८।
अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसको ३० औं श्रृङ्खला शुक्रवार देखि (डिसेम्बर ३ ) मा विविध कार्यक्रमसहित मनाइएको छ ।
कोभिड–१९ को सङ्क्रमणको अवस्थालाई ध्यानमा राखी केही कार्यक्रमहरू भर्चुअल र सरोकारवाला व्यक्तिबीच भौतिक दुरी कायम गरी मनाइने राष्ट्रिय अपाङ्घ नेपालले जनाएको छ ।
यस वर्ष ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार’ राष्ट्रिय नारा तय गरी अपाङ्गता भएका व्यक्तिको समस्या र सवालमा सरोकारवालासँग छलफल गरी अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइदैछ । अन्तर्राष्ट्रिय नारा ‘लिडरसिप एण्ड पार्टीसिपेसन अफ पर्सन वीथ डिसेवलिटीज् टुवार्ड एन इन्क्ल्युसिव, एसिसेवल एण्ड सस्टेनेवल पोष्ट कोभिड–१९ वल्र्ड’ तय गरिएको छ ।
महासङ्घद्वारा आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता भएका व्यक्तिको जीवनस्तर उन्नत बनाउन र अधिकारको सवाल सम्वोधनका लागि जागरणमुलक कार्यक्रमसहित दिवस मनाउने बताएका छन ।
राष्ट्रिय अपाङ्ग महासङ्घका महासचिव राजु बस्नेतले दीगो विकास लक्ष्य सन् २०३०, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्वन्धी अन्तर्राष्ट्रिय महासन्धि(सिआरपीडि),अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्वन्धी ऐन २०७४ तथा नियमावली २०७७ एवं नीतिगत व्यवस्थालाई कार्यान्वयन गर्न यस्ता दिवसले प्रेरित गर्ने बताए ।
सन् १९८१ लाई संयुक्त राष्ट्रसङ्घले अन्तर्रा्ष्ट्रिय अपाङ्गता वर्षको रूपमा घोषणा गर्यो ।
अपाङ्गता भएका व्यक्तिहरूका सवालमा विश्वव्यापी रूपमा काम गर्न १९८३ मा राष्ट्रसङ्घले अपाङ्गता सम्बन्धी १० वर्षे विश्व कार्ययोजना लागु गर्यो । सन् १९९२ मा यस दश वर्षे कार्ययोजनाको विश्वव्यापी रूपमा भएको कार्यान्वयनको समिक्षा गरियो र सोहि वर्ष देखि ३ डिसेम्बर लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्रा्ष्ट्रिय दिवसको रूपमा मनाउन थालिएको हो ।
समाज कल्याण परिषद्, राष्ट्रिय अपाङ्ग कोषले शुक्रवार दिवसकै सन्दर्भमा आयोजित कार्यक्रममा अपाङ्गता भएका प्रतिभाशाली व्यक्तित्वहरू पुरस्कृत एवं सम्मानित भएका छन ।
सो अवसरमा विभिन्न व्यक्तित्वहरूले कला, साहित्य, सङ्गीत, खेलकुद, सामाजसेवा र शिक्षा र सूचना र प्रविधी शीर्षकमा स्थापना गर्नुभएको पुरस्कार तथा सम्मानबाट अपाङ्गता भएका व्यक्तित्वहरू सम्मानित भएका छन ।
त्यसैगरी दिवसको पहिलो दिन नेपाल महिला अपाङ्ग सङ्घद्वारा आयोजित ‘अपाङ्गता भएका महिला, महिलावाद, विष्लेषण र अन्तरछेदिय –(इन्टरसेक्सन) दृष्टिकोण विषय अन्तरक्रियाको आयोजना गरिएको थियो ।
सो अवसरमा सञ्चारकर्मी जया लुईंटेल र अनुसन्धाता कैलाश राईले महिलावादका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
सङ्घका अध्यक्ष टिका दाहालले महिलाभित्र पनि अपाङ्गता भएका महिलाको विविधतामाझ ‘महिलावाद’ को विषयमा चर्चा गर्न कार्यक्रमको आयोजना गरिएको बताए ।