असहाय गाईबाछा संरक्षण अभियान द्वारा आयोजित देउसी भैलो बाट एक लाख ७५ हजार संकलन
कपन अनलाइन
काठमाडौँ, कात्तिक २२। असहाय गाईबाछा संरक्षण अभियानले गोठाटार स्थित संरक्षण केन्द्रमा आयोजित देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ ।छोटो समयको तयारीका साथ आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपाल रहेकी थिइन भने कार्यक्रममा काठमाडौँ महानगरपालिका–६ का वडा अध्यक्ष दीपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ८ का अध्यक्ष एबम नगर प्रवक्ता मनोज कुमार ढुङ्गाना वडा नं ७ का अध्यक्ष केशव गुरुङ , कागेश्वरी मनोहरा नगरपालिका ८ का अध्यक्ष श्रीप्रसाद चापागाईं लगायत स्थानीय तहका जनप्रतिनिधिको पनि देउसी भैलोमा सहभागिता रहेको थियो ।
कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा संरक्षण गरिएका गाईबाच्छाका लागि सहयोगस्वरूप लागि रु एक लाख ७५ हजार उपलब्ध गराइएको छ । तिहारका अवसरमा देउसी भैलो खेली सहयोग रकम जुटाइएको बेवारिसे गाईबाच्छा संरक्षण अभियानकर्मी ईश्वर पुडासैनीले जानकारी गराए ।
सडकमा छोडिएका १०० भन्दा बढी गाईबाच्छालाई अभियानकर्मीले संरक्षण गर्दै आएका छन् । संरक्षणस्थलमा गाईको सङ्ख्या थपघट भइरहने गरेको छ । कोरोना महामारीका कारण विसं २०७६ चैत ११ गतेदेखि बन्दाबन्दी गरिएका बेला सडकमा गाईबाच्छा बढ्न थालेकाले कोषले गौशाला बनाउन जग्गा उपलब्ध गराएको थियो । यहाँ २०७७ जेठ २ गतेदेखि गाईबाच्छा संरक्षण गर्न थालिएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी गराए ।