रात्रीकालिन व्यवसायलाई सम्मानीत पेशाका रूपमा स्थापित गनुपर्ने माग
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १८।
रात्रीकालिन व्यवसायलाई सम्मानीत पेशाका रूपमा स्थापित गनुपर्ने मागसहित विश्वास नेपालले सरोकारवालासँग छलफल गरेको छ ।
विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले रात्रीकालिन व्यवसायमा राजधानीमा ६० हजार र देशभर आठ लाखले रोजगारी पाइरहेको भन्दै यस पेशामा काम गर्नेले समाजमा अझैपनि सम्मान नपाएको भन्दै त्यस्तो माग गरेकी हुन् ।
विश्वास नेपालले रात्रीकालिन व्यवसायमा विभिन्न जिम्मेवारीमा काम गर्ने विशेष गरी महिला कर्मचारीको क्षमता अभिवृद्धि र पेशालाई मर्यादित बनाउन अपनाउनुपर्ने सावधानी, सीपको लागि तालिम र उनीहरूको हक/अधिकारका लागि काम गर्दै आएको छ ।
कार्यक्रममा नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी सङ्घका अध्यक्ष विनोद श्रेष्ठले रात्रीकालिन व्यवसायमा पहिलेभन्दा अहिले धेरै सुधार र आन्तरीक नियम बनाएरै भएपनि संस्थागत बनाउदै लगेको बताए ।
उहाँले कोभिड– १९ को महामारीपछि व्यवसायलाई परेको समस्या राख्नलाई व्यवसाय सुचिकरण पनि गर्नुपर्ने रहेछ भन्ने आफुलाई ज्ञान भएको र व्यवसायलाई दीर्घकालिन रूपमा सञ्चालन गर्ने हो भने व्यवसायी र त्यहाँ रोजगार गर्नेको पनि हितका लागि कदम चाल्नुपर्ने विचार गर्नुभयो ।
ठमेल पर्यटन परिषद्का उपाध्यक्ष राजुमान डंगोलले विगतमा क्यासिनोमा काम गर्नेलाई समाजमा हेलाको दृष्टिले हेर्थे, अहिले त्यस पेशामा काम गर्नेले इज्जत पाएका छन् भन्दै पेशालाई मर्यादित बनाउने व्यवसायीको पनि भुमिका हुन्छ भने कामदारले पनि निश्चित पोसाक लगाएर आफ्नो कामको सम्मान आफैंले पनि दिनुपर्ने धारणा राखेका थिए ।
उपाध्यक्ष डंगोल हालै सरकारले रात्रीकालिन व्यवसायसम्वन्धी मापदण्ड बनाउने कार्यदलको सदस्य समेत रहेका छन ।
त्यस सन्दर्भमा उहाँले, मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै रात्रीकालिन पेशालाई मर्यादित/सुरक्षित बनाउने, व्यवसायलाई पनि निरन्तर सञ्चालन गर्न सकिने विषयमा आवश्यक सुझाव दिएको बताउनुभयो ।