गोकर्णेश्वर नगरपालिका वडा नं ९ ले घर दैलो खोप सेवा शुरु गर्यो
कपन अनलाइन
काठमाडौँ, भाद्र १८। गोकर्णेश्वर नगरपालिका वडा नं ९ ले कोरोनाविरुद्धको खोप लगाउन खोप केन्द्रसम्म जान नसक्ने ८० बर्ष माथिका ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्त व्यक्तिहरूलाई घरमा नै खोप सेवा उपलब्ध गराएको छ । केहि दिन अघि वडाले कोरोनाविरुद्धको खोप लगाउन खोप केन्द्रसम्म जान नसक्ने ८० बर्ष माथिका ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्त व्यक्तिहरूको बिवरण संकलन गरेको थियो, त्यसैको आधारमा घरमा नै पुगेर खोप लगाएको वडा अध्यक्ष राजिब थापाले कपन अनलाइनलाइ जानकारी गराए।
कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष राजिब थापा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्याय लगायत स्वास्थ्यकर्मीको टोलीले वडा नम्बर ९ का विभिन्न स्थानबाट यो अभियान शुरु गरेका हुन ।हिजो बाट शुरु गरिएको सो अभियान नगरपालिकाको सबै वडामा सञ्चालन हुने नगर प्रमुख सन्तोष चालिसेले जानकारी गराएका छन । खोप लगाउन खोप केन्द्रसम्म जान नसक्ने ८० बर्ष माथिका ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्त व्यक्तिहरूलाई आ-आफ्नो वडामा नाम लेखाउनसमेत उनले आग्रह गरेका छन् ।