योध्दाहरू युध्द बिसाओ : निर्मलरमण पराजुली (कविता )
कपन अनलाइन
काठमाडौं, भाद्र ५ ।
योध्दाहरू युध्द बिसाओ
घायलहरू अब कतै नरिसाओ
जे नहुनु थियो, भयो
अब
देश, देश हुनुपर्छ
कति दुख्छौ ? दर्दमा
मलम लगाउनुपर्छ
पीरा मनहरू
पीर लुकाओ
उन्मादका मनहरू
समतल ओर्ल –संयमले
धेरै दुखे देशका छेउहरू
सीमारेखाहरू
संयमका अनुहारहरू
अब
कतै कारण बनेर
चिसिनुहुन्न–मन
र मन ओत लागेका ठाउँहरू
म दुख्दा
तिमी दुख्नुपर्छ
र तिमी दुख्दा म
खोक्रो अस्तित्वका लागि
सान
रवाफ
र सत्तालोभका लागि
तिमी दुख्यौ
म दुखेँ
देश दुख्यो
ओर्ल मित्रहरू
यथार्थ जिउँदो छ
म विनाका तिमी
तिमी विनाको म
र देश विनाका हामी
कल्पित हुनसक्दैन–अस्तित्व
मेरो देशका पाखामा मिसाएर
युध्द र रिसका आखाहरु
सँङ्सँगै यात्रा हुनुपर्छ
गन्ती,
खन्ती
र हम्मरका हातहरूका
संयम सह–अस्तित्वमा
स्वीकारोक्तिहरू
त्यसैले
योध्दाहरू युध्द बिसाओ
घायलहरू ! अब कतै नरिसाओ
लामो यात्रा हिड्नुपर्छ–हामीले
तिमीलाई ठेस लाग्दा
मलम लाउनुपर्छ– मैले
म लडेको देख्दा
मन दुख्नु पर्छ तिम्रो
यात्राको नियम
यत्ति हिड्यौ भने
युध्दको आगो
न तिमी बल्नुपर्छ
घायलको घाउ
न रिसाउनुपर्छ मैले
दुखेको लिपु
न तान्नसक्छ उसले
हजारौँको वली
न कसैले कबुल गर्नुपर्छ
लाखौँ यातनाका मार
न कसैले वहन गर्नुपर्छ
त्यसैले
अब योध्दाहरू युध्द बिसाओ
घायलहरू अब कतै नरिसाओ
गन्तब्य एउटै हो
म र मेरो देश
देश एउटै हो
मेरो र तिम्रो …!
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक