फुटबलर शान्ता नेपालीलाई सहयोग

फुटबलर शान्ता नेपालीलाई सहयोग

कपन अनलाइन

काठमाण्डौ ,साउन ३० ।

फुटबलर शान्ता नेपालीलाई नेप्लेज डटकमले सञ्चालन गरेको सहयोग अभियान अन्तर्गत शुक्रबार २ लाख ५९ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । तीन साता अघि नेप्लेजले शान्ताको आर्थिक अवस्थाका विषयमा भिडियो तयार पारि युट्युवमा प्रशारण गरेको थियो । उक्त भिडियो सार्वजनिक भएपछि देश विदेशमा रहेका नेपालीहरुले सहयोग गरेका  हुन् । शुक्रबार वालिङ नगरपालिकाको सभाहलमा भएको एक समारोहकाबीचमा नगरपालिकाका मेयर दिलिप प्रताप खाँडको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।
शान्तालाई नेपाली राष्ट्रिय फुटबल टिमका तर्फबाट नगद एक लाख रुपैयाँ सहयोग  प्राप्त भएको थियो । नगदसहित टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले शान्तालाई आगामी दिनको शुभकामना दिएका थिए । यसैगरी युकेमा बस्ने सुनिल प्रधानले गो फण्ड युके मार्फत सहयोग रकम जुटाउन सहयोग गरेका थिए । उनले सबैसँगबाट एक लाख रुपैयाँ सहयोग रकम पठाएका थिए । यसैगरी अस्ट्रेलियाबाट मुकुल क्षेत्रीले व्यक्तिगत रुपमा ५० हजार तीन सय रुपैयाँ सहयोग गरेका छन् । शान्तालाई केल्मी नेपालले एक सेट ट्रयाक सुट पनि प्रदान गरेको थियो ।
कार्यक्रममा मेयर खाँडले शान्ताको परिवारलाई नगरपालिकाले पाँच आना जग्गा दिने प्रक्रिया अघि बढाइएको जानकारी दिए । वडा नम्बर ८ का सात परिवारलाई जग्गा दिने प्रक्रिया अघि बढाइएकोमा शान्ताको नाममा मात्रै जग्गा पास हुन बाँकी रहेको बताए । अहिले वालिङ खेल मैदानको छेउँमा रहेको शौचालयको छतमा दुई कोठाको बस्ने बास्थान पाएकी शान्ताको परिवारलाई आफूहरुले आउँदा दिनमा पनि सहयोग गर्ने बताए ।
विगतमा देशभरका स्थानीय तहहरुमा सर्वाधिक खेलकुदमा बजेट विनियोजन गरेको स्मरण गर्दै खेलकुदको विकासका लागि आफूले चाहँदा चाँहदै पनि बजेट खर्च हुन नसकेको पनि बताए । उनले खेलकुदको राम्रो योजना लिएर आउनेलाई आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
यसैगरी नगरपालिकाले खेलाडीका घरपरिवारको एक लाख बराबरको स्वास्थ्य विमा पनि गरिएको जानकारी दिए ।
कार्यक्रममा स्कुल अफ डेमोक्रेसी संस्थाका स्याङ्जा अध्यक्ष अनुप श्रेष्ठले शान्तालाई नगरपालिकाले दिने पाँच आना जग्गामा दुई कोठे घर आफूहरुले निर्माण नै निर्माण गरिदिने प्रतिबद्धता जनाएका छन् ।
सहयोग रकम ग्रहण गरेपछि शान्ताले यो सहयोगले आफूलाई ठूलो सहयोग पुग्ने बताइन् । सहयोगी मनहरुलाई धन्यवाद दिँदै आगामी दिनमा अझ राम्रोसँग खेल्न प्रेरणा मिल्ने बताए ।
कार्यक्रमका सभापति ट्रिनिटी क्लबका अध्यक्ष राजु गुरुङले खेलकुदमा सबैसँगै मिलेर अघि बढ्दा वालिङको नाम चिनाउन सजिलो हुने बताए । राजनीतिक आस्थाका आधारमा भन्दा पनि खेलकुदको भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।