२०४६ साल अघि जस्तो दलको ह्वीप नलाग्ने निर्दलीय प्रधानमन्त्रीको विपक्षमा छौँः विद्या सुन्दर शाक्य

कपन अनलाइन

काठमाण्डौ ,साउन ११ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहेको बताएका छन  । काठमाडौँ महानगरपालिकाको वडा–२१ को वडा कार्यालय भवन शिलान्यास गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताएका हुन्  ।

‘हामी दलीय प्रधानमन्त्रीको पक्षमा छौँ, दलीय व्यवस्थालाई परिपक्क बनाउन चाहन्छौँ,’ प्रमुख शाक्यले भने , ‘तर, अदालतको परमादेशबाट निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहनु भएको छ । अहिले मुलुकमा दलको प्रधानमन्त्री छैन ।’ शाक्यले अहिले स्थानीय तह र प्रदेशमा दलीय व्यवस्था भए पनि प्रधानमन्त्री निर्दलीय रहेको दाबी गरेका थिए  ।

‘दलको ह्वीप नलाग्ने प्रधानमन्त्री भनेको निर्दलीय प्रधानमन्त्री हो । यो विडम्वनापूर्ण अवस्था हो,’ उनले भने , ‘संविधान निर्माताहरुलाई म प्रश्न गर्न चाहन्छु । के संविधान लेख्दै त्यहाँ निर्दलीय प्रधानमन्त्रीको परिकल्पना गरिएको थियो ? कि संविधानको अपव्याख्या गरेर निर्दलीय प्रधानमन्त्री बनाएको हो ?’ उनले संविधान लेख्दा त्यो परिकल्पना गरिएको थिएन होला भन्दै अहिले त्यसलाई अपव्याख्या गरिएको हुनसक्ने बताए ।

‘दलको ह्वीप नलाग्ने, दलको ह्वीप नमान्ने सांसदलाई दलले कारवाही गर्न नपाउने त्यस्तो पनि हुन्छ ? हिजो हामी जुन व्यवस्थाको विरुद्धमा लागेका थियौँ अहिले त्यही व्यवस्थातर्फ धकेल्ने कार्य भैरहेको छ,’ उनले भने , ‘यो गलत छ । योचाँहि प्रतिगमन हो । अहिले प्रधानमन्त्री बनाउने प्रक्रिया नै प्रतिगामी छ । दलीय प्रधानमन्त्री बनाउनुको अर्को विकल्प नभएको उहाँको भनाई छ । ‘अब स्थानीय तहको निर्वाचन फागनुमा हुँदैछ । त्यतिबेला हामी जनताको घर–दैलोमा पुगेर भन्नुपर्छ । हामीले ०४६ साल अघिको निर्दलीय प्रधानमन्त्री होइन बहुदलीय व्यवस्थापछिको दलीय प्रधानमन्त्री खोजेका हौँ,’ शाक्यले भने , ‘दलीय व्यवस्थालाई बलियो बनाउन हामी सबै एकजुट हुनुपर्छ । म गगन थापा, विश्वप्रकाश शर्माहरुलाई पनि मुलुकमा निर्दलीय होइन दलीय प्रधानमन्त्री चाहिन्छ भनेर बोल्ने आँट गर्नुहोस भन्ने सुझाव दिन्छु । तर, उहाँहरु अब बोल्नुहुन्न । उहाँहरु दुलो पसिसक्नु भयो । अब हामी बोल्छौँ ।’

‘ह्वीप नमान्नु पार्टीको नितिविरुद्ध काम’ प्रमुख शाक्यले पार्टी भनेको आफ्नो घर भएको भन्दै । जुन घरमा हामी बसेका छौँ, त्यो घरको नीति अनुसार, त्यो परिवारको नीति अनुसार चल्नुपर्नेमा पनि जोड दिए  । ‘म निर्वाचनमा सूर्य चिन्ह लिएर उठेको थिएँ । मलाई मतदाताले मेयरमा निर्वाचित गर्नुभयो । अब म रुख चिन्हमा भोट हाल्छु भन्दै हिँड्न मिल्छ ? मेरो नैतिकताले दिन्छ ? मिल्दैन, दिदैँन,’ उनले भने , ‘अहिले केही साथीहरुले यस्तै नमिल्ने काम गरिरहनु भएको छ । कुनै दलको चिन्ह लिएर चुनावी मैदानमा आउने अनि विर्नाचित भएपछि स्वतन्त्र बन्ने परिकल्पना हामीले गरेका थिएनौँ । तर, अहिले त्यस्तै काम भैरहेको छ । यो क्षणिक समयका लागि मात्रै हो ।’

उहाँले दलीय व्यवस्थालाई मास्ने काम भैरहेको र यो गलत परम्पराको थालनी भएको ठोकुवा गरेका थिए  । नेकपा एमालेबाट निर्वाचित केही सासंदहरुले संविधान बचाउन शेरबहादुर देउवाको पक्षमा मतदान गरेको भन्नु हाँस्यास्पद भएको पनि उनले बताए  । ‘म उहाँहरुलाई भन्न चाहन्छु ।

त्यतिबेला सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दा किन दिनु भएन ? त्यतिबेला मत दिएको भए संसद विघटन गर्नुपर्ने अवस्था नै रहने थिएन,’ उनले भने , ‘अहिले अर्को पार्टीको नेतालाई भोट दिएर प्रधानमन्त्री बनाउने अनि संसद बचाएको भन्ने कुरा लोकप्रिय बन्न खोज्ने कुरा मात्रै हो ।’

तपाइँको प्रतिक्रिया ।