आज वीपी स्मृति दिवस, वीपी संग्राहलय समितिले औपचारिक कार्यक्रम नगर्ने
कपन अनलाइन
काठमाडौं श्रावण ६। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा आज विपी स्मृति दिवस मनाइँदै छ ।नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गरेका नेता कोइरालाको वि.स. २०३९ साल साउन ६ गते निधन भएको थियो । प्रत्येक वर्षको साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाइदै आएको छ ।
गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल स्थित वीपी संग्राहलयमा पनि बिभिन्न कार्यक्रम आयोजना गरिदै आएको भए पनि कोरोना महामारीको कारण पटक यो कुनै पनि कार्यक्रम नराखेको उक्त संग्राहलयका अध्यक्ष परशुराम पोखरेलले कपन अनलाइनलाइ जानकारी गराए । यद्यपी कोइरालाको सालिकमामाल्यार्पण भने गरिने जानकारी गराउदै इच्छुक,शुभेच्छुकहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पुष्प गुच्छा अर्पण गर्न आउन भने सकिने जानकारी गराएका छन।
प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीलाई बन्दी बनाइएको सुन्दरीजल बन्दगृहलाई विसं २०६१ भदौ २४ गते बिपी संग्रहालयका रुपमा उद्घाटन गरिएको थियो । बिपीको जीवनका महत्वपूर्ण चीजबीजको संकलन गरी दर्शनीय बनाइएको संग्रहालय विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेपछि पुरातत्व विभागले पुनःनिर्माण गरिरहेको छ ।संग्रहालयमा बिपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै विसं २००७ को क्रान्तिमा प्रयोग गरिएको ट्यांकर, कांग्रेसले विसं २०२९ जेठ ३० गते क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान पनि राखिएको छ।
२०१५ सालमा बहुदलीय व्यवस्थामा आधारित संसदको निर्वाचनमा विराटनगरबाट विजयी बनेका विपी २०१६ साल असार १६ गतेदेखि २०१७ साल पौष १ गतेसम्म नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।कोइराला साहित्यकारका रुपमा समेत निकै लोकप्रिय र चर्चित छन । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक मानिने कोइरालाका डेढ दर्जनभन्दा धेरै कृति प्रकाशित छन् ।कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन ।