स्व.राजेशहरी जोशी अनलाइन चेसको उपाधि हेटौंडाका कृष्णलाई

कपन अनलाइन
पर्सा,  असार १३।

 स्व. राजेशहरी जोशी स्मृति अनलाइन बुद्धिचाल प्रतियोगितामा हेटौंडाका कृष्ण थापाले एघारौं चरणको खेलमा बद्रीलाल नेपालीलाई पराजित गर्दै १० अंकका साथ उपाधि आफ्नो नाममा राख्न सफल भएका छन्। लगातार नवौं चरण सम्म अपराजित रहि उत्कृष्ट खेल प्रदर्शन गरिरहेका १३ वर्षीय नवयुवा खेलाडी पुरुषोत्तम सिलवालले दशौं चरणको खेल  क्याटलाइन ओपनिङ्ग अन्तर्गत नाइट सि सिक्स, बिषप बि सेभेन भेरिएसनमा मेन लाइन भन्दा बाहिर खेल्न पुगेका थिए। 3 मिनेट 2 सेकेण्डको ब्लिज खेलमा क्विक क्यालकुलेशन नै हतियार हुने हुदा कृष्ण थापाले एउटा पाउन अप गर्दै खेललाई आफ्नो अनुकुल बनाए। निकै अपेक्षा गरिएका पुरुषोत्तम सिलवाल प्रोग्रेसिभ अंकमा पछाडि परि १० अंक सहित दोस्रो स्थानमा रहन सफल भएका छन्। उनले एघारौं चरणको खेलमा सप्तरीका महेश कुमार चौधरीलाई पराजित गरेका थिए।त्यस्तै प्रतियोगितामा  ९ अंकका साथ फिडे मास्टर क्षितिज भण्डारी तेस्रो भए । उनले झापाक अर्जुन घिमिरेलाई हराएका थिए। झापाका जोशिला खेलाडी राजन सुवेदी चौंथो बन्न सके।

     ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालन भएको यस सर्वाधिक पुरस्कार राशी एवं सहभागीताको प्रतियोगितामा संयुक्त ८.५ अंक बनाउदै रुपेश जैसवाल पाँचौ , तीन पटकका नेपाल च्याम्पियन बद्रीलाल नेपाली छैटौं र हाल रसियामा चेस अध्ययनरत २५०० माथि रेटिङ पुर्याउन सक्षम विवेक थिङ मनिष हमाल संगको खेलमा लापटप चार्ज सकेर अंक गुमाउदै सातौं हुन सफल रहे। त्यसैगरि सुशील चौधरी, आशिष् फूयाल, मनिष हमाल ८ अंक बनाउदै  क्रमशः आठौं देखि दशौं सम्म रहन सफल भएका छन्। समान ८ अंकका साथ सुशील थारु, अष्ट्रेलियावाट हिमाल लामा, पुण्यमान कर्माचार्य, सिएम केशब श्रेष्ठ, अर्जुन घिमिरे क्रमशः एघारौं देखि पन्ध्रौं स्थानमा रहि नगद पुरस्कार प्राप्त गरेका छन्। यस प्रतियोगिताका उत्कृष्ट महिलामा पुनम गुरुङ प्रथम, डब्लु एफएम सुजना लोहनी द्वितीय र इन्दिरा वस्तिले तृतीय स्थान रहन सफल भइन।  दशौं स्थान सम्मका महिला खेलाडीहरुलाई पनि नगद पुरस्कारको व्यवस्था गरेका थिए।   क्याटागोरि पुरस्कार अन्तर्गत २००० रेटिङ मुनि भुवनेश्वर चौधरी, १८५० मुनि चुडामणि सि, १७५० मुनि सुरज लिम्बू, १५५० मुनि जमिम अलि उत्कृष्ट ठहरिए।। भेट्रानतर्फ काठमाडौका महेश्वर लाल डंगोल प्रथम र ललितपुरका सूर्यमान महर्जन द्वितीय बने।

     अहिलेसम्म सार्वधिक २७९ जना खेलाडीहरु सहभागीता   रहेको अनलाइन बुद्धिचाल प्रतियोगिता सफलताको लागप भक्तपुरका राम प्रसाद कासुला , ललितपुर का पुरुषोत्तम थापा , मकवानपुरका ज्ञानकृष्ण प्रजापति र मोरङका ज्ञानेन्द्र पराजुली लगायतले अार्थिक सहयोग गरेका धिए। यसअघि  ललितपुर स्पोर्ट्स क्लबले नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष तथा क्लबका  सल्लाहकार स्व. राजेशहरी जोशीको १३ह्रौं पुण्य तिथिको दिन अनलाइन शोक सभा कार्यक्रमको अायोजना गरेको थियो। क्लबका अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा भएको कार्यक्रममा राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल , एशियन चेस फेड्रेशनका उपाध्यक्ष भारतका  भरत सिंह चौहान, एशियन जोनल ३.२ का अध्यक्ष बंगलादेश का शहबुद्धिन , एकालाल श्रेष्ठ लगाएतले स्व. जोशीको विशेष क्षमताको बारेमा धारणा राख्दै श्रद्धाञ्जली ब्यक्त गरेका थिए। क्लबका सचिव राजु ताम्राकारले श्रद्धाञ्जली सभाको कार्यक्रम संचालन गरेका थिए।

तपाइँको प्रतिक्रिया ।