तस्वीरमा बाढीले वितण्डा मच्चाएको मेलम्ची क्षेत्र
कपन अनलाइन
सिन्धुपाल्चोक, असार २ । भिषण बाढीले मेलम्ची बजारमा गम्भीर क्षती पुगेको छ। अबिरल वर्षा र मंगलवारदेखि आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार क्षेत्र बगरमा परिणत भएको छ ।बजारमा रहेका एकतले घर पुरिएको छन् भने अग्ला घरका भुइँतला लेदोले भरिएका छन् ।
मेलम्ची खोलामा आएको बढीले सिन्धुपाल्चोक जिल्लाको प्रमुख ब्यापारिक केन्द्र मेलम्ची बजारका घरहरु र अन्य संरचनमा निकै ठुलो क्षती पुगेको छ।सो बजारमा पसेको बढीले धेरै घरहरुमा गम्भीर क्षेती पुगेको छ भने सदरमुकाम चौतारा संग जोड्ने पुल पनि बगाएको छ। खोला बगरमा रहेको पार्क र फोहोर प्रसोधन केन्द्रको नामोनिसान रहेको छैन भने रेडियो मेलम्चीको भवन पनि दुई तला सम्म डुवेर त्यसका महत्त्वपूर्ण उपकरणहरु बगाएको छ।
अहिले पनि पानी परिरहेकाले स्थानीय त्रसित छन् । खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । स्थलगत रुपमा पनि नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसहितको टोली परिचालित भएको छ ।मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोका कारण हालसम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ भने करिब करिब पाँच सय जना विस्थापित भएका छन् । केही घाइतेहरुलाई काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ ।
तस्वीर : आदित्य दाहाल