चन्द्रागिरिको नगर स्तरीय आईसोलेशन सेन्टरको शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ द्वारा अवलोकन
कपन अनलाइन
काठमाडौं जेठ १८। चन्द्रागिरि नगरपालिका वडा नं ८ मातातिर्थ स्थित सामूदायिक अस्पतालको निर्माणधिन भवनमा मा रहेको नगर स्तरीय आईसोलेशन सेन्टरको शिक्षा,बिज्ञान तथा प्रविधि मन्त्री माननीय कृष्ण गोपाल श्रेष्ठलगायतको टोलिले सोमबार अवलोकन गरेका छन।
अबलोकन पछि जनप्रतिनिधिसँगको भेटघाटमा उक्त आइसोलेसन सेन्टरमा जडान हुदै गरेको अक्सिजन प्लान्टबाट छिटो भन्दा छिटो अक्सिजन उत्पादन गर्न केन्द्र सरकारले सहयोग गर्ने बताए । राज्यको सम्पुर्ण संयन्त्र परिचालन गर्दै जनताको स्वास्थ्य सुरक्षाको लागि सरकार कटिबद्ध रहेको भन्दै मन्त्री श्रेष्ठले बिध्यमान परिस्थितिमा जनताको स्वास्थ्य सुरक्षाको लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका थिए।
साथै उनले विदेशी दातृ राष्ट्रहरुले कोभिड बिरूद्ध दिएका स्वास्थ्य सामाग्रीहरू चन्द्रागिरिका आईसोलेशनहरूलाई उपलब्ध गराउने प्रतिबद्धता जनाउदै यस महामारीमा जनताको स्वास्थ्य सेवा प्रति जनप्रतिनिधिले गरेको कामको प्रशंसा गर्दै मन्त्री श्रेष्ठले जनताले प्रत्यक्ष प्रत्याभूति हुनेगरि काम गर्न समेत जनप्रतिनिधिलाइ निर्देशन दिएका थिए ।भेटघाटमा चन्द्रागिरी नगरपालिकाका प्रबक्ता हरिभक्त महर्जन स्वास्थ्य संयोजक एबम वडा अध्यक्ष सन्तोष खड्का वडा अध्यक्षहरु सन्जय सिग्देल, राजेन्द्र केसि, देबेन्द्र महर्जन लगायतको उपस्थिति रहेको थियो।
चन्द्रागिरिको वडा नं. ८ मा नगरस्तरीय आइसोलेशन सञ्चालित छ । अत्याधुनिक आइसोलेशन रहेको मातातिर्थ सामुदायिक अस्पतालमा अहिले आफ्नै अक्सिजन प्लान्ट जडानको काम धमाधम भइरहेको छ ।झण्डै ७४ लाखको लागतमा जडान गर्न लागिएको प्लान्ट मुलुककै सामुदायिक अस्पतालमा पहिलो हो । जडान गर्न कम्पनी सँग सम्झौता भइसकेको र अबको एक महिना भित्रमा नै अस्पतालले उत्पादन सुरु गर्नेछ ।