जन्मदिनको अवसरमा कागेश्वरीको मुलपानी नगर अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान
कपन अनलाइन
काठमाडौं, जेठ १६ ।समाजसेवी रीना दाहालले आफ्नो जन्म दिनको अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाले संचालन गरेको मुलपानी नगर अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरेकी छिन । कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापा, उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, नगर प्रवक्ता राजाराम पुडासैनी, वडा अध्यक्षहरु श्रीकृष्ण प्रसाद चापागाई र प्रकाश फुयाँल तथा वडा सदस्य अष्टलाल श्रेष्ठ लगायतको उपस्थितिमा समाजसेवी रीना दाहालले ३ वटा व्हीलचियर, ४५ वटा पिपीई सेट, अक्सीमिटर ६ वटा र सर्जिकल मास्क १० प्याकेट प्रदान गरेकी हुन।
सामग्री बुझ्दै नगर प्रमुख कृष्णहरि थापाले कोभिडको विषम परिस्थितिमा जन्मदिनको अवसरमा स्वास्थ्यलाई प्राथमिकता दिएर अस्पताललाई सहयोग गरेकोमा धन्यवाद दिएका थिए। उनले कोरोना भाइरसविरुद्धको अभियानमा प्राप्त सामग्री महत्वपूर्ण हुने बताएका थिए । हाम्रो मेलमिलाप बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समिति सदस्य समेत रहेकी समाजसेवी रीना दाहालले आफ्नो जन्मदिनको अवसरमा हरेक बर्ष विविध सामाजिक कार्यहरु गर्दै आएकी छिन ।