कृष्णप्रसाद  स्मृति चेसको उपाधि  निकेनलाई

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १४।

नेपाल बुद्धिचाल संघका पुर्व  कोषाध्यक्ष   कृष्णप्रसाद श्रेष्ठको तेह्रौ दिनको पुण्यतिथीमा  भएको स्व. कृष्णप्रसाद स्मृति  अनलाइन  बुद्धिचाल प्रतियोगिताको उपाधि भक्तपुरका युवा खेलाडी निकेन कुस्थाले हात पारेका छन्। उनले एघारौं  चरणको खेलमा उनले फिडे मास्टर क्षितिज भण्डारीसंग बराबरी खेलि साढे ९ अंक सहित सो उपाधि जितेका हुन्।

त्यस्तै धनुषाका सुशील चौधरीले झापाका राजन  सुवेदीलाई अन्तिम चरणको खेलमा पराजित गरी ९ अंक जोडेर  दोस्रो स्थानमा रहे। क्षितिज भण्डारी तेस्रो  स्थानमा रहे। उनले साढे ८ अंक नै जोडेका पुर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीलाई प्रोग्रेसिभ अंकमा पछि पारेका थिए। एघारौं चरणको खेलमा दोलखाका आशिष फुयाललाई  हराएका बद्री चौंथौ स्थानमा रहे। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगितामा राजन सुवेदी ,पुर्व नेपाल च्याम्पियन केशव श्रेष्ठ , स्याङ्जाका युवराज पौडेल , झापाका अर्जुन घिमिरे, भक्तपुरका सुमन सुवाल र काठमाडौंका चमन गाह मगर  पाँचौदेखि दशौं स्थानमा रहन सफल भए।

त्यसैगरी महिलातर्फको उपाधि वर्तमान नेपाल च्याम्पियन सुजना लोहनीले  जिते भने दोस्रो र तेस्रो काठमाडौका रिया श्रेष्ठ  र इन्दिरा बस्ती  भइन।बुद्धिचाल डट कमको प्राविधिक सहयोगमा संचालन भएको प्रतियोगितामा १८०० मुनि रेटेडमा केशव कार्की  १६५०मुनिमा मन्त आचार्य र भेट्रानमा हेराकाजी महर्जन उत्कृष्ट ठहरिए ।

नेपालमा बुद्धिचाल खेल विकासको लागि ८ बर्ष कोषाध्यक्षमा रहि काम गरेका कृष्णप्रसादको  स्मृतिमा भएको प्रतियोगितामा १५१  जना खेलाडीहरुको सहभागीता रहेको थियो भने  उत्कृष्ट ३१  जना खेलाडीहरुलाई नगद पुरस्कारको लागि नेपाल बुद्धिचाल संघका पुर्व अध्यक्ष तथा फिडे ईथिक्स कमिसनका सदस्य  राजेशहरी जोशीले  सहयोग गरेका थिए।

तपाइँको प्रतिक्रिया ।