काठमाडौं उपत्यकामा भिषण वर्षा हुने सम्भावना,महाशाखाले गर्‍यो यस्तो अपिल

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १२।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा रहेको ‘यास चक्रवात’को प्रभाव नेपालमा पनि देखिन थालेसँगै आज देखि केही ठाउँमा भीषण वर्षा हुने सम्भावना औंल्याएको छ ।

लुम्बिनी प्रदेश हुँदै काठमाडौं उपत्यकासम्म नै बादलका रुपमा ‘यास चक्रवात’को प्रभाव देखिन थालेको महाशाखाको भनाइ छ । चक्रवातको प्रभावले दिउँसोपछि सुदूरपश्चिम बाहेकका सबै प्रदेशहरुमा बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

बङ्गालको खाडीमा रहेको चक्रवात आज र भोलि शक्तिशाली बनेर उत्तरपश्चिमतर्फ जाने देखिएको महाशाखाले जनाएको छ । चक्रवातको प्रभाव अबका केही दिन नेपालमा पनि देखिने भन्दै महाशाखाले विशेष बुलेटिनमार्फत सबैलाई सुरक्षित रहन अनुरोध समेत गरेको छ ।

चक्रवातको कारण आज दिउँसोपछि वाग्मती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही ठाउँमा हिमपात र हावाहुरी लाग्ने सम्भावना रहेको छ ।

भोलिदेखि केही दिन देशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्ययम खालको वर्षा र प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने छ । पर्सि बिहीबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनापानीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । हिमाली क्षेत्रमा हिमपात र तीव्र गतिको हावा चल्ने सम्भावना रहेकाले अबका केही दिन हिमाल आरोहणमा नजान र हिमाल छेउमा भएकाहरुले सुरक्षित रहन पनि महाशाखाले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।