रोचक बन्दै बुढानिलकण्ठको राजनीति : दीपक निरौलाको समानान्तरमा कुसुम कुमार कार्की
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ३।
नेपाल कम्युनिस्ट पार्टी एमालेमा बुढानिलकण्ठ नगरपालिकाका दुई जना जिल्ला कमिटी सचिवमा चयन भए संगै नगरपालिकाको राजनीतिमा चर्चा परिचर्चा शुरु भएको छ।
नेकपा एमाले काठमाण्डौको सचिवमा दीपक निरौला र खनाल -नेपाल पक्षले घोषणा गरेको समानान्तर कमिटीको सचिवमा कुसुम कुमार कार्की चयन भए संगै यसले बुढानिलकण्ठको राजनीतिलाई निकै तताएको छ।
काठमाण्डौ क्षेत्र नं ५ (२ ) बाट निरौला र काठमाण्डौ क्षेत्र नं ४ (२ ) बाट बागमती प्रदेस सभा सदस्यमा निर्वाचित कार्कीले काठमाण्डौ जिल्ला कमिटी सचिवको जिम्मेवारी प्राप्त गरे संगै बुढानिलकण्ठ नगरपालिकामा नया किसिमको शक्ति संघर्ष र रोचक प्रतिस्पर्धा हुने अनुमान गर्न थालिएको छ।
कुनै समय इलाका कमिटीमा संगै सहकार्य गरेका निरौला र कार्की नेकपा एमालेमा देखिएको विवाद संगै संगठनात्मक जिम्मेवारीका हिसावले प्रत्यक्ष प्रतिस्पर्धामा आउनु बुढानिलकण्ठको राजनीतिमा निकै रोचक र महत्वपूर्ण घटना क्रम रहेको एक बुद्दिजीवीले बताए।
काठमाण्डौ जिल्ला १० वटा निर्वाचन क्षेत्रमा विभाजन भए संगै फरक फरक निर्वाचन क्षेत्रमा क्रियाशील रहेका उनीहरु २०७१ शालमा नगरपालिका गठन पश्चात एकै नगरपालिकाको राजनीतिमा जोडिएका थिए।
२०४९ शालको स्थानीय निकायको निर्वाचनमा साविक महांकाल गाविस उपाध्यक्ष र २०५४ शालमा गाविस अध्यक्ष बनेका कार्की नेकपा काठमाण्डौ क्षेत्र नं ४ को दुई पटक अध्यक्ष निर्वाचित बनेका थिए भने विद्यार्थी र काठमाण्डौ भूगोलको राजनीतिमा लामो समय विताएका निरौला काठमाण्डौ जिल्ला प्रचार विभाग प्रमुख तथा बुढानिलकण्ठ नगरपालिकाको संयोजक रहेका थिए।
२०७४ शालमा भएको प्रदेस सभाको निर्वाचनमा सानदार मत सहित निर्वाचित बनेका उनीहरुले प्रदेस सभामा पनि महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त गरेका थिए। बागमती प्रदेस सभामा निरौला नेकपा एमाले संसदीय दलको सचेतक र स्थायी राजधानी अध्ययन कार्यदलको संयोजक बनेका थिए भने कार्की पर्यटन उपसमितिको संयोजक रहेका छन।
निर्वाचन क्षेत्रगत भूगोलको राजनीतिमा प्रत्यक्ष प्रतिस्पर्धी नदेखिए पनि काठमाण्डौ जिल्लाको राजनीतिमा भने निरौला र कार्की आमने सामने भएको अहिलेको अवस्था बुढानिलकण्ठ नगरपालिकाको राजनीतिमा भने रोचक र अर्थपूर्ण हुने विश्लेषण हुन थालेको छ।