काठमाण्डौ पुरानो बसपार्कका ११२ ओटा पसलहरुमा काठमाण्डौ महानगरपालिकाको सिल
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ३।
सम्झौता विना सञ्चालन भइरहेका पुरानो बस पार्कको सिटी मार्केटका ११२ ओटा पसलहरु काठमाण्डौ महानगरपालिकाले सिल गरेको छ ।
पटक–पटक ताकेता गर्दा पनि सम्झौता नवीकरण गर्न बेवास्ता गरेपछि आज पसललाई नै सिल गर्नुपनरेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिएका छन ।
‘‘लामो समयदेखि सम्झौता पनि नभएको अवस्थामा हामीले अब त्यहाँ मार्केट नचलाउने गरी हाललाई बन्द गरेका हौँ,” ज्ञवालील भने, ‘‘अब त्यसलाई भत्काएर सभागृहकै एक पार्टका रूपमा व्यवस्थित गर्छौं ।
काठमाडौं महानगरपालिका राजश्व विभाग प्रमुख डाक्टर शिव अधिकारीले सिटी मार्केटमा व्यवसाय गर्ने व्यवसायीले २०७६ चैतसम्म व्यवसायीहरूको संघमार्फत केही बहाल बुझाए पनि त्यसपछि नबुझाएको बताए । उनले महानगरको खरिद विभागले आय ठेक्कामा लगाउने गरी सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कुनै प्रस्ताव पेश नभएको पनि जानकारी दिए ।
त्यस्तै नगरप्रहरी प्रमुख धनपती सापकोटाले व्यवसायीलाई पटक–पटक सूचना दिदाँ पनि पसल नहटाएपछि आज प्रहरी र नगरप्रहरीले सिल गरेको बताए । पलस सिल गर्ने क्रममा व्यापारीले विना सूचना हटाएको भन्दै हो–हल्ला गरेका थिए । प्रहरीको काममा अवरोध पुर्याउन खोज्ने केही पक्राउ परेका छन् ।