हनुमानढोका दरबारक्षेत्रका पसल तथा व्यवसाय हटाउन काठमाडौं महानगरपालिकाको माइकिंग
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १८।
विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर हनुमानढोका दरबारक्षेत्रमा अनधिकृत व्यापारिक प्रयोजन हटाउन महानगरले माइकिङ् सुरु गरेको छ । सम्पदा क्षेत्रमा होटल, रेष्टुरेन्टलगायतका व्यापारिक प्रयोजन हटाएर सम्पदामैत्री स्थान निर्माण गर्न पुरातत्व विभागलाई पत्राचार गरिसकिएको जनाउँदै माइकिङ्मार्फत व्यापारीलाई आफ्ना सामान आफैं हटाएर सहयोग गर्न अनुरोध गरिएको छ ।
‘विभागलाई हामीले पटक–पटक मौखिक र लिखित रुपमा आग्रह गर्यौ तर, उहाँहरुले ढिलासुस्ती गरेपछि बाध्य भएर सम्पदा मासेर अनधिकृत व्यापार गरिहेका व्यापार–व्यवसायीहरुलाई ती स्थान खाली गर्न आग्रहसहित माइकिङक गरेका हौँ,’ नगर प्रहरी उपरीक्षक धनपति सापकोटाले भने , ‘वारुण यन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा व्यापारिक प्रयोजनमा होटल, रेष्टुराँ र सटरहरु सञ्चालित छन् । हामीले उहाँहरुले आफै हटाउन भनेका छौँ । मान्नुभएन भने प्रचलित कानुनबमोजिम खाली गराउने प्रक्रियामा लाग्छौँ।’
सम्पदा संरक्षण गर्ने दायित्व लिएको पुरातत्व विभाग आफैंँले विश्व सम्पदा सूचीमा सूचीकृत स्थानलाई व्यापारिक प्रयोजनमा लगाएको विषयप्रति महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको गम्भीर ध्यानाकर्षण भएको छ । उता स्थानीय बासिन्दालेसमेत पटक–पटक त्यहाँको मौलिकता कायम गर्न महानगरपालिकासँग आग्रह गरेका छन् । प्रमुख शाक्य र स्थानीयको माग उल्लेख गर्दै सापकोटाले भने यो — ‘पुरातत्वलाई दोस्रो ताकेता पत्र पठाउँदासमेत विभागले वेवास्ता गरेपछि हामीले माइकिङ्मार्फत सार्वजनिक सूचना प्रवाह गरेका हौंँ ।’
महानगरपालिकाकाले गएको माघ १४ गते अनधिकृत प्रयोजन हटाइदिन आग्रह गर्दै पुरातत्वलाई पत्र पठाएको थियो । यसको प्रतिउत्तर नपाएपछि दोस्रो पटक चैत ५ गते अनधिकृत व्यापार–व्यवसाय हटाई त्यहाँको ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वलाई कायम राख्न ताकेता गरिएको थियो ।
पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले काठमाडौँ महानगरपालिकाको प्रयासलाई सकारात्मक रुपमा लिएको भन्दै सो क्षेत्र पुरातत्वको क्षेत्राधिकार भित्र पर्ने हुँदा समस्या समाधानका लागि प्रयास जारी राखेको जानकारी दिएका छन । ‘काठमाडौँ महानगरपालिकाले पठाएको पत्र प्राप्त भएपछि हामीले प्रधानमन्त्री कार्यालय र पर्यटन मन्त्रालयलाई जानकारी गराइसकेका छौँ,’ गौतमले भने , ‘त्यो क्षेत्र हनुमान ढोका दरबार संग्रहालय विकास समितिले हेरिरहेको र पर्यटन सचिव त्यसको प्रमुख हुने भएकाले हामीले उहाँहरुसँग समेत समन्वय गरेर तत्काल बैठक बसी तत्काल समाधानको प्रयास गर्ने तयारी गरेका छौँ ।’
महानगरपालिकाकाले गएको माघ १४ गते अनधिकृत प्रयोजन हटाइदिन आग्रह गर्दै पुरातत्वलाई पत्र पठाएको थियो । यसको प्रतिउत्तर नपाएपछि दोस्रो पटक चैत ५ गते अनधिकृत व्यापार–व्यवसाय हटाई त्यहाँको ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वलाई कायम राख्न ताकेता गरिएको थियो ।
पुरातात्विक र विश्व सम्पदा सूचिमा रहेको त्यहाँको सम्पत्तिलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा काठमाडौँ महानगरपालिकाले लिएको पहल सकारात्मक रहेको भन्दै प्रमुख शाक्यको प्रयासमा समर्थन रहेको जानकारी दिएका छन । ‘त्यहाँ भएका पसल–कवलमा स्थानीय उत्पादनको प्रर्वद्धन गरी आर्थिकस्तर उकास्नुपर्छ र पुरातात्विक र विश्व सम्पदा सूचीमा रहेका स्थानको संरक्षण गर्नुपर्छ भन्नेमा हाम्रो विमति छैन,’ उनले भने , ‘पहिला त्यहाँ केही कमजोरी भएको रहेछ भने पनि सुधार गरेर जानुपर्छ भन्नेमा हामी सकारात्मक छौँ ।’फोटो सौजन्य :काठमाण्डौ अनलाइन