कोरोना भाइरसको खोप ल्याउने विषयमा छलफल
कपन अनलाइन
काठमाडौं ,मंसिर २६।
उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले कोरोना भाइरसको खोप ल्याउने विषयमा मन्त्रीहरुसँग छलफल गरेका छन् । शुक्रबार सिंहदरबारमा गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य, पर्यटनमन्त्री, मुख्यसचिव र सचिवहरुसँग उनले सामूहिक छलफल गरेका हुन् ।
जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउनेबारेमा सीसीएमसीमा आबद्ध मन्त्रीहरुसँग पछिल्ला सरकारका निर्णय र त्यसमा भैरहेको प्रगतिकाबारेमा छलफल गरिएको जनाइएको छ ।
‘समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल भएको हो’, उपप्रधानमन्त्री पोखरेलले भने, ‘त्यस बाहेकका कतिपय निर्णयको कार्यान्वयनका सन्दर्भमा पनि अनौपचारिक छलफल भएको छ ।’
बैठकले कोभिड–१९ भाइरस नियन्त्रण सम्बन्धी कार्यको बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यका साथ प्रकाशन गर्ने निर्णय पनि गरेको छ । सीमा विन्दुमा हेल्थ डेस्क स्थापना गर्ने गरी उपचारका निम्ति चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आवश्यकता अनुसार करार सेवामा नियुक्त गर्ने बारेमा पनि बैठकमा छलफल भएको थियो ।
साथै, कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ता सम्बन्धमा देखा परेका केही व्यवहारिक कठिनाइका सम्बन्धमा पनि छलफल भएको थियो ।
बैठकमा गृहमन्त्री रामवहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्टमन्त्री प्रदिप ज्ञवाली, सामान्य प्रशासन हृदयश त्रिपाठी, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र पर्यटनमन्त्री योगेश भट्राईको सहभागीता थियो । साथै मुख्यसचिव शंकरदास वैरागी र प्रधानमन्त्री कार्यालय लगायतकासचिवहरुको सहभागिताथियो ।