काठमाडौं–५ मालीगाउँमा ‘मैती अजिमा शरण’ (ध्येः छें:) पुननिर्माण शिलान्यास
कपन अनलाइन
काठमाडौं ,मंसिर २६ ।
काठमाडौंको ऐतिहासिक सांस्कृतिक क्षेत्र मालीगाँउमा रहेको ऐतिहासिक ‘मैती अजिमा शरण’ (ध्येः छें:) को पुनर्निर्माणका लागि शिलान्यास गरिएको छ । काठमाडौं–५ मालीगाउँमा रहेको ऐतिहासिक ध्येः छें: को काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका हुन् ।
नेकपा केन्द्रीय सदस्य तथा सोही क्षेत्रका प्रदेश सांसद नारायण सिलवालको पहलमा सोही ध्येः छें: पुनर्निर्माण हुन लागेको हो । ध्येः छें: भनेको नेवारी भाषा हो । यसको नेपाली रूपान्तरण ‘देउता राख्ने घर’ भन्ने हुन्छ ।
ध्येः छें: मा काठमाडौँ महानगरपालिका- ३१ म रहेको मैतीदेवी मन्दिरको खट तथा देउता राख्दै आइएको छ । मैतीदेवी मन्दिर, गोरखाको प्रसिद्ध मनकामना माई देवीको दिदीको रूपमा लिइन्छ । विभिन्न जात्रा तथा पर्वको अवसरमा मैतीदेवी मन्दिरमा लगिने तथा विभिन्न स्थान घुमाइने खट तथा देउता राख्न मालिगाँउस्थित यसै ध्येः छेंः मा राखिन्छ । पछिल्लो समय जीर्ण रहेको सो ‘ध्येः छेंः भत्काएर नयाँ स्वरूपमा पुनर्निर्माण गरिन लागिएको हो ।
शिलान्यास कार्यक्रममा मेयरसँगै, उपमेयर हरिप्रभा खड्की, प्रदेश सांसद सिलवाल, संविधानसभा सदस्य रत्न गुरुङ, वडा नम्बर ५ का अध्यक्ष रमेश डङ्गोल, नेकपाका स्थानीय नेता तथा ‘ध्येः छेंः निर्माण उपभोक्ता समिति अध्यक्ष रमेशमान मुनिकार, सल्लाहकार समेत रहेका नेकपाका स्थानीय नेता वीरेन्द्र प्रजापति र गणेश श्रेष्ठलगायतको उपस्थिति थियो ।
‘द्धे छेंः मा पुनर्निर्माणका लागि अनुमानित कुल लागत २ करोड ६ लाख रुपैयाँमा लाग्ने जनाइएको छ । पुनर्निर्माणको लागि अहिलेको लागी १ करोड रुपैयाँ छुट्टाएको छ । अर्को आर्थिक वर्षमा फेरि रकम छुट्टाइने प्रदेश सांसद सिलावालले बताए ।