३०० जनालाई स्वयम्सेवक तालिम

कपन अनलाइन 

पोखरा, २४ चैत । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी कास्की जिल्लामा ३०० जनालाई मतदाता शिक्षा स्वयम्सेवक तालिम दिन सुरु गरिएको छ ।

जिल्लाभित्र १५० मतदानस्थल रहेकामा मतदाता सङ्ख्याको आधारमा लगभग ३०० मतदान केन्द्र हुनेछन् । प्रत्येक केन्द्रमा मतदाता शिक्षा दिन एक जना प्रशिक्षक पठाउने तयारीस्वरुप तालिम प्रदान गर्न लागिएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिनुभयो ।

स्वयम्सेवक तालिमका लागि समूहगत विभाजन गरी एउटा समूहमा ३० देखि ३५ जनासम्मलाई समावेश गरिएको छ । यही चैत २८ गते तालिम सम्पन्न गरी वैशाख १ गतेदेखि सबै केन्द्रमा प्रशिक्षक खटाइने योजना छ ।

सुवेदीका अनुसार निर्वाचन कार्यालयले यसअघि क्षेत्रीय स्तरमा सञ्चालन गरेको प्रशिक्षणमा निर्वाचन कार्यालयका कर्मचारी, शिक्षा कार्यालयका स्रोत व्यक्ति र सामाजिक विषयका शिक्षकलाई तालिम प्रदान गरेकामा तिनै तालिम प्राप्त व्यक्तिले जिल्लाभित्र स्वयम्सेवक तालिम प्रदान गरेका छन् ।

स्वयम्सेवक तालिम लिने प्रशिक्षार्थीमा सामाजिक परिचालक, बालविकास केन्द्रका शिक्षक, स्वास्थ्य स्वयम्सेविका र प्राथमिक तहमा अध्यापनरत शिक्षकमध्येबाट रहेको कार्यालयले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।