‘भिराडिल खाइके साकुरा’ पार्क अवलोकनमा काठमाडौं क्षेत्र नं ५ (२ )का जनप्रतिनिधि
कपन अनलाइन
काठमाडौं, कार्तिक २८। काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं १५ तीन थानामा रहेको ‘भिराडिल खाइके साकुरा’ पार्कको स्थलगत अवलोकन तथा अन्तरक्रिया सम्पन्न भएको छ।गाउँ र सहर दुवैतिरको मिश्रणजस्तो लाग्ने रमणीय ठाउँ कीर्तिपुर र चन्द्रागिरी नगरपालिकाको सिमानामा रहेको भिराडोल खाइके साकुरा पार्कको बिहिबार बागमती प्रदेश सभा सदस्य दिपक निरौलाको संयोजनमा काठमाडौं निर्वाचन क्षेत्र नं ५(२)का वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको टोलीले अवलोकन तथा अन्तरक्रिया गरेका हुन उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य बेलीमाया घेलेको पनि उपस्थिति रहेको थियो।
टाढैबाट टक्क देखिने पिपलको पुरानो चौताराको छेउमा करिब ९० मिटर लामो झोलुङ्गे पुल सहित वरपर वनमा चराचुरुङ्गीका चिरबिरले आनन्दित बनाउने सुरम्य वातावरणलाई थप आकर्षक बनाउन डरलाग्दो खोँच र खोल्सालाइ रचनात्मक प्रयोग गरिएको सो पार्क पूर्वाधार विकासको नमुना संरचना बनेको छ।
भिराडिल क्षेत्रको करिब ३२ रोपनी क्षेत्रफलमा नेपाल सरकारसँगको साझेदारीमा निर्माण हुन लागेको उक्त पार्कमा गल्छी पार्क, मिनी रेल, जिपलाइन, रक क्लाइम्बिङ, स्काइलाइन निर्माण हुँदैछ , करिब ४० प्रतिशत काम सकिएको पर्यटन व्यवसायी तथा भिराडिल खाइके साकुरा’ पार्क संरक्षण समितिका अध्यक्ष लोकनाथ सिलवालले भ्रमण टोलीलाई जानकारी गराएका थिए।
उनले भीराडिल आफैमा भ्यु टावरजस्तै रहेकोले सो डाँडामा भ्यु टावर बनाउन आवश्यक नरहेको बताउदै सम्म ठाउँका लागि भ्यु टावर डिजाइन गरिने जानकारी दिएका थिए।
चोभारको डाँडामुन्तिर हुँदै बगेको खोँचमा भएकाले त्यहाँ पुग्न र फर्किन मिल्ने गरी संरचना बनाएको उनले जानकारी गराए ।’ चन्द्रागिरि नगरपालिका वडा नं १५का वडा अध्यक्ष आफैमा इन्जिनियर भएको हुँदा उनको सोच अनुसार स्थानीयको सहभागितामा कामहरु भईरहेको बताएका थिए।
उनले भीराडिल क्षेत्रमा रहेको पुरानो चौतारोलाई जीर्णोद्धार गरेर नयाँ चौतारो निर्माण गरिएको पनि जानकारी गराएजापानको खाइके सहरबाट ५० बोट ‘साकुरा’ ल्याएर जापानी दूतावास र जापानको ‘खाइके लाइफ सेभिङ क्लब’को सहकार्यमा वृक्षारोपण गरिएको जानकारी दिदै जनप्रतिनिधिहरुको जापान भ्रमण र जापान बाट पनि प्रतिनिधिहरुले सो क्षेत्रको भएपछि योजनाले गति पाएको उनले सुनाए । ‘भीराडिल भनेको भीरको डिल हो, खाइके जापानको खाइके सहर र त्यहाँको राष्ट्रिय फूल साकुरा अर्थात् (पैयुँ ) सोही नाम र ठाउँबाट प्रभावित भएर वडा अध्यक्षको सक्रियतामा योजना विस्तार गरेको जानकारी दिएका थिए ।
भीरडिल खाइके साकुरा पार्कको डिजाइन दुई तरिकाले गरिएको छ। जसमा एउटा पैसा आम्दानी हुने र अर्को आम्दानी नहुने रहेको छ। सो पार्कभित्र जगिङ, एम्फिथियटर, योगा सेन्टर पनि निर्माण हुदैछ भने बालबालिका तथा ज्येष्ठ नागरिकहरू बस्नका लागि सानो गार्डेनको व्यवस्था पनि गरिएको छ ।
जगिङ/मर्निङवाकमा आउँदा, त्यहाँबाट भ्यु हेर्दा, एम्फिथियटरमा सहभागी हुँदा पैसा लाग्ने छैन भने मनोरञ्जन लिनेहरूका लागि भीरमा अन्य प्लेटफर्महरू बनाइने जस्तै रक क्लाइम्बिङ, स्काइवाक, जिपलाइनबाट मनोरन्जन लिंदा आम्दानी हुने वडाको विस्वास रहेको छ। भीरैभीरबाट निस्कन पनि मिल्ने भएकाले समथल ठाउँ बनाउन भित्तामा फलामहरू ड्रिल गरिएको छ।
स्थानीयलाई आम्दानी हुने गरेर यो प्रोजेक्ट डिजाइन गरेको हुँदा वडाले पैसा आउने ठाउँमा लगानी गर्न हरेक जनताको घरबाट कम्तीमा १० हजार र बढीमा २५ हजार उठाएको छ ।पछी यसबाट आएको आम्दानी हरेक घरलाई बाँड्ने वडाको योजना रहेको छ।
उक्त पार्कमा हालसम्म १ करोड १० लाखको काम अर्थात् ४० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी गराउदै त्यस मध्ये बागमती प्रदेश बाट ५० लाख बिनियोजन गरिएको छ।