तारकेश्वरको पाँचमानेमा सहयोगापेक्षीहरुका लागि भवन निर्माण वारे छलफल
कपन अनलाइन
काठमाडौं ,कार्तिक २२।
सडकमा भएका बेवारिसे (सहयोगको अपेक्षामा रहेका — सहयोगापेक्षी) व्यक्तिहरुलाई उद्धार गरेर राख्नका लागि तारकेश्वर नगरको वडा ३ पाँचमाने नजिक भवन निर्माणको सम्भावना बारे प्रारम्भिक छलफल भएको छ ।
काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, तारकेश्वर नगरका प्रमुख रामेश्वर वोहोरा, महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, तारकेश्वर नगरका वडाध्यक्षहरुका वीच छलफल भएको हो ।
छलफलमा बोल्दै महानगरका प्रमुख शाक्यले भने — ‘जसको कोही हुँदैन । उसको व्यवस्थापन गर्ने जिम्मा सरकारको हो । राजधानी भएकोले काठमाडौंमा सबैतिरका मानिसहरु आउनु स्वभाविकै हो । यसरी आएकामध्ये कुनै न कुनै कारणले सडकमा माग्नु पर्ने अवस्थामा पुगेकाको व्यवस्थापनका लागि हामीले काम गरिरहेका छौं । यसबाट कति व्यक्तिको पारिवारिक पुनर्मिलन भएको छ । कतिजनाले उपचार पाएर स्वस्थ जीवन पाउनु भएको छ ।’ उनले आगामी योजनाका बारेमा उल्लेख गर्दै भने — ‘तारकेश्वर नगरको जग्गामा सम्भावना देखिएको छ । जग्गामा भवन निर्माण गर्ने र मानव सेवाका काम गर्ने बिषयमा संघ सरकारका कार्यालयहरुबाट योजना स्वीकृत भएपछि काठमाडौ महानगरले त्यस ठाउँमा भवन निर्माण गरिदिन्छ । यसको सञ्चालन मानव सेवा आश्रमले गर्नेछ ।’ यस कार्यमा सबैबाट सहयोग हुने मैले अपेक्षा गरेको छु, मेयर शाक्यको भनाइ थियो ।
त्यस क्रममा बोल्दै तारकेश्वर नगरका प्रमुख रामेश्वर वोहोरालेभने — ‘ठाउँ उपयुक्त छ । योजना राम्रो छ । महानगरसँग आफ्ना नगरका कर्मचारी मिलेर विस्तृत परियोजना बनाएर जग्गा प्राप्ति गर्ने प्रक्रिया सुरु हुनेछ ।’
नगरहरुबाट प्राप्त भएको सहयोगबाट मानवीय सेवाका कामलाई मूर्त आकारमा सञ्चालन हुने हाम्रो अपेक्षा छ । त्यस क्रममा बोल्दै मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले भने — ठाउँ प्राप्त भएपछि सञ्चालन व्यवस्थापनको काममा कुनै कमी हुनेछैन ।
महानगरले २०७४ मंसिर १ गते मानव सेवा आश्रमसँग सडकमा वेसहारा जीवन विताइरहेकाहरुको पालन पोषणमा सहयोग पु¥याउने उद्देश्यले सम्झौता गरेको हो । सहरका सडक किनारामा वेसहारा जीवन विताउने हरेक उमेर समूहका मानिसलाई उद्धार गरेर, आश्रममा लाने, सम्भव भए पारिवारिक पुनर्मिलन गराउने सहमतिबमोजिमको काम भइरहेको छ ।
त्यसपछि महानगरका सडक पेटी तथा खुल्ला स्थानमा भेटिएका सवै उमेर समूहका, शारीरिक र मानसिक अवस्था जस्तोसुकै भएपनि, सहयोगको आवश्यकता भएका व्यक्तिहरुलाई उद्धार गर्ने, उपचार तथा पालनपोषण गर्ने, आधारभूत आवश्यकता परिपूर्ति गरिदिने, शिक्षा दीक्षा दिने काम आश्रमले गरिरहेको छ । यसबापत् महानगरले वडा नं. २६ सामाखुशीमा आश्रम सञ्चालन भएको एउटा र बुढानिलकण्ठ नगरपालिका वडा नं. १ नीलो पुलमा सञ्चालित एउटा गरी २ वटा घरको मासिक बहाल तिर्दै आएको छ । यसै गरी उद्धार कार्यमा प्रयोग गर्न एउटा सवारी खरिद गरिदिएको छ ।फोटो सौजन्य :काठमाडौं अनलाइन