मैतिदेवीमा काठमाडौं महानगरको अनुगमन ,चण्डी-कालिका पसलमा सडेको मासु भेटियो
कपन अनलाइन
काठमाडौं ,असोज २२।
काठमाडौंको मैतिदेवीमा सञ्चालित चण्डी-कालिका मासु पसलमा सडेको मासु बिक्री गर्न राखेको पाइएपछि काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले नष्ट गरेको छ ।
महानगरपालिकाले गरेको नियमित अनुगमनका क्रममा मासुपसलमा केही मात्रामा सडेको कुखुराको मासु बिक्री गर्न राखेको पाइएको थियो । उक्त मासुलाई अनुगमनमा गएको टोलीले नष्ट पारेको छ ।
त्यस्तै मासुपसलमा म्याद गुर्जेको मसलासमेत पाइएको छ । महानगरपालिकाका पशुविकास अधिकृत डम्बरबहादुर बमले मासुपसलमा अनुगमन गर्दा सडेको मासु फेला परेको बताए । त्यस्तै पसलमा अस्तव्यस्त रुपमा मासु राखिएको, वधशाला फोहोर भएको पाइएकाले स्पष्ट जवाफसहित महानगरमा आउन भनिएका बमले बताए ।
महानगरपालिकाले मैतिदेवी क्षेत्रका अन्य खाद्य पसलहरुमा पनि अनुगमन गरेको थियो । त्यस क्रममा केही पसलहरु दर्ता नगरी सञ्चालन गरेको, ढक तराजु प्रमाणीकरण नगरी प्रयोग गरेको पाइएकोले सचेत गराइएको उनले बताएका छन ।