गणित शिक्षा परिषद प्रदेश १ को अध्यक्षमा ओखलढुंगाका जीवन नेपाल
कपन अनलाइन
काठमाडौं ,असार ३।
गणित शिक्षा परिषद प्रदेश १ को अध्यक्षमा जीवन नेपाल सर्वसम्मत चयन भएका छन् । ओखलढुंगाको कालिका मावि सिस्नेरीका प्रअ समेत रहेका नेपाल गणित विषयका विज्ञ शिक्षकहरुको समुहको प्रदेश १ का अध्यक्ष बनेका हुन् ।
जिल्लामा लामो समय देखि शिक्षक, स्रोत व्यक्ति र गणित विषयको विषय विज्ञका रुपमा रहेर काम गर्दै आएका नेपाल गणित शिक्षा परिषद्मा स्थापना काल देखिनै सकृय थिए । नव गठित प्रदेश स्तरीय परिषदको कार्य समितिमा विभिन्न जिल्लाका गणित विषयका विज्ञ शिक्षकहरु चयन भएका छन् ।
शैक्षिक गुणस्तर सुधार र त्यसमा पनि गणित विषयको पठनपाठनलाई थप सहज बनाउँदै नयाँ आयाम खोज्ने विषयमा गणित शिक्षा परिषदले आफ्ना क्रियाकलापहरु गर्दै आएको छ । त्यस अन्तरगत शिक्षकको व्यक्तिगत तथा पेशागत क्षमता विकासका लागि तालिम, गोष्ठी समसामयिक सवालमा छलफल गर्दै आएका निष्कर्षलाई आफ्नो धारणाका रुपमा सार्वजनिक गर्ने, नीतिगत रुपमा सुझाव दिने र शिक्षकहरुले आफु कार्यरत विद्यालयमा त्यसको कार्यान्वयन गर्ने सहितका काम गर्ने परिषदले जनाएको छ ।