बागमती प्रदेस सरकारको स्वास्थ्य क्षेत्रका विशेष योजनाहरु
कपन अनलाइन
हेटौडा ,असार २।
बागमती प्रदेस सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ। बागमती प्रदेस सरकारको आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत बजेटमा प्रदेस सरकारले स्वास्थ्य क्षेत्र तर्फ तय गरेका विशेष कार्यक्रम तथा योजना हरु निम्न रहेका छन।
प्रदेसका आर्थिक मामिला तथा योजना मन्त्रि कैलाश ढुंगेलले स्वास्थ्य क्षेत्रका प्रस्तुत गरेका योजनाहरु :
१. कोभिड-१९ (कोरोना भाइरस) लगायतका संक्रामक तथा अन्य रोगहरुको रोकथाम, नियन्त्रण र उपचारका कार्यहरुलाई प्रभावकारी बनाई गुणस्तरीय स्वास्थ्य सेवा अनुभूति हुने गरी सर्वसुलभ पहुँचको सुनिश्चितता गर्न हाम्रो सार्वजनिक स्वास्थ्य प्रणालीमा सुधार गर्नुपर्ने अवस्था देखिएको छ ।
प्रभावकारी र विश्वसनीय सार्वजनिक स्वास्थ्य सेवा प्रणाली स्थापना गर्न प्रविधि एवम् उपकरण, भौतिक पूर्वाधार विकास, औषधीको व्यवस्था र दक्ष जनशक्ति व्यवस्थापन कार्यलाई उच्च प्राथमिकता दिई स्वास्थ्य क्षेत्रमा सुधार गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
२ .कोभिड-१९ को संक्रमणलाई यथाशिघ्र रोकथाम र नियन्त्रण गर्न मापदण्ड अनुसार परीक्षणको दायरा वृद्धि, थप पि. सि. आर ल्याब संचालन, केस इन्भेस्टिगेसन, कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको व्यवस्थापन गर्न आवश्यक श्रोतको व्यवस्था गरेको छु ।
साथै कोभिड-१९ को संक्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधी, स्वास्थ्य सुरक्षा सामाग्री तथा सो कार्यमा अहोरात्र खटिने चिकित्सक, नर्स, प्रयोगशालाकर्मी लगायतका स्वास्थ्यकर्मी तथा अन्य जनशक्तिलाई सेवामा उत्प्रेरित गर्न प्रोत्साहन भत्ता साथै क्वारेन्टाइनको आवश्यक व्यवस्थापन लगायतका लागि रु १९ करोड ४४ लाख छुट्याएको छु ।
३. नेपालको संविधानमा व्यवस्था भएको प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने मौलिक हकलाई मूर्तरुप दिन स्वास्थ्य संस्थामा जनशक्ति, उपकरण तथा निःशुल्क औषधीको व्यवस्था, खोप केन्द्र, सामुदायिक स्वास्थ्य इकाई र शहरी स्वास्थ्य केन्द्रको विस्तार तथा स्थानीय स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्ड सुधार गर्नुपर्ने आवश्यकता भएअनुसार सो को लागि रु. २६ करोड ६८ लाख विनियोजन गरेको छु ।
४. अस्पतालजन्य फोहोरमैलाको आधुनिक र उपयुक्त प्रक्रियाबाट विसर्जन, मृत शरीर व्यवस्थापनका लागि शव गृहको व्यवस्था गरी अस्पताललाई स्वच्छ, सफा र हराभरा राख्न तथा प्रदेश मातहतका अस्पताल र स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार विकासका लागि रु ५६ करोड ३० लाख विनियोजन गरेको छु ।
५. मातृ तथा बाल मृत्युदर घटाउन प्रदेश मातहतका सबै अस्पतालमा बृहत आकस्मिक प्रसूति तथा नवजात शिशु सेवा (सि.ई.ओ.एन.सि) सुनिश्चित गर्ने व्यवस्था मिलाएको छु । मातृ तथा बाल स्वास्थ्य लगायत समग्र स्वास्थ्य सेवाको प्रवर्द्धनको लागि खटिएका महिला स्वास्थ्य स्वयंसेवकलाई प्रदान गरिँदै आएको संचार खर्चलाई निरन्तरता दिएको छु। समग्रमा मातृ तथा बाल स्वास्थ्य प्रबर्द्धनका लागि रू.१८ करोड ३५ लाख बिनियोजन गरेको छु ।
६. नसर्ने रोगको कारणबाट सृजना हुने स्वास्थ्य जोखिमको न्यूनीकरण गर्न समयमा नै पहिचान र रोकथाम गरी आम नागरिकको जीवनरक्षा गर्न मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमलाई परिमार्जन गरी स्थानीय तहसम्म विस्तार गर्ने व्यवस्था गरेको छु ।
७. क्यान्सर रोग लागेका विपन्न नागरिकलाई उपचारमा नेपाल सरकारले दिएको सहुलियतका अतिरक्त रू. पचास हजार थप गर्ने व्यवस्था गरेको छु।क्यान्सर अस्पतालसँगको सहकार्यमा महिलाको पाठेघर एवम् स्तन क्यान्सरको नि:शुल्क परिक्षणका साथै मृगौला रोगीको उपचारको सहज पहुँचको लागि साझेदारीमा डायलाइसिस सेवा नभएका जिल्ला अस्पतालहरूबाट क्रमशः सेवा विस्तार गर्न र हेमोफिलियाका बिरामीहरुको सहज उपचारको व्यबस्था समेत गरी नसर्ने रोग रोकथाम, नियन्त्रण र उपचारका लागि १५ करोड ८४ लाखको व्यवस्था गरेको छु। अल्जाइमर्स रोगको रोकथाम, उपचार तथा सहयोगका लागि सरकारी अस्पतालमार्फत् शैलेजा आचार्य अल्जाइमर्स रोग विशेष कार्यक्रम सञ्चालन गरिने छ।
८. नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसुलभ पहुँच एवम् सुनिश्चितताका लागि प्रदेश अस्पताल नभएका जिल्लाहरूका क्रमशः दोलखाको चरिकोट, काभ्रेपलाञ्चोकको मेथिनकोट, ललितपुरको बज्रबाराहीमा रहेको पाटन जिल्ला अस्पताल र चितवनको बकुलर रत्ननगर अस्पताललाई प्रदेश अस्पतालको रूपमा स्तरोन्नती गर्ने व्यवस्था मिलाएको छु । साथै अस्पतालको सेवा भन्दा बाहिर रहेका २१ प्रादेशिक निर्वाचन क्षेत्र समेटिने गरी थप १७ वटा स्वास्थ्य संस्थालाई चिकित्सकीय सेवा सहितको अस्पताल संचालन सहयोगका लागि १२ करोड ८० लाख विनियोजन गरेको छु। यसबाट प्रदेशका ६६ वटै निर्वाचन क्षेत्रमा चिकित्सकीय सेवाको पहुँच विस्तार हुनेछ।
९. प्रदेश मातहतका सबै जिल्ला आयुर्वेद केन्द्रबाट आयुवेर्दिक चिकित्सा सेवा, वैकल्पिक चिकित्सा सेवा, पञ्चकर्म, योग सेवा होमियोपेथी लगायत स्वास्थ्य पद्धतिको सुदृढीकरण गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।
१०.सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको समग्र स्वास्थ्य सुधारका लागि सञ्चालन गरिएको एक विद्यालय एक नर्स कार्यक्रमलाई सबै स्थानीय तहका थप दुई विद्यालयमा विस्तार गर्न रु १९ करोड ८० लाख विनियोजन गरेको छु । साथै विद्यालयमा आधारित सुरिक्षत र स्वस्थ भविष्य किशोर किशोरीको लक्ष्य विशेष कार्यक्रम कार्यन्वयन गर्न रू. ६ करोड व्यवस्था मिलाएको छु ।
११.प्रदेश भित्रका राजमार्ग (वि.पी. राजमार्ग, अरनिको राजमार्ग, पृथ्वी राजमार्गको मुग्लिङ काठमाण्डौ खण्ड र पूर्व पश्चिम राजमार्गको हेटौँडा चितवन खण्ड)मा हुने दुर्घटनाका घाइतेको शीघ्र उपचार तथा अन्य आकस्मिक स्वास्थ्य उपचारका लागि नजिकको अस्पतालमा पठाउने व्यवस्था मिलाउन उक्त राजमार्ग क्षेत्रमा केन्द्रित अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्सको व्यवस्था तथा सो क्षेत्रमा रहेको स्वास्थ्य संस्थाहरुको सबलीकरणका लागि आवश्यक बजेट व्यवस्था गरेको छु।
१२. मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने लक्ष्यका साथ संस्थागत तथा संरचनागत व्यवस्था र शैक्षिक कार्यक्रम सुरुवात गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।
१३.भक्तपुर, सिन्धुली र त्रिशुली अस्पताललाई १०० शैया क्षमताको विशिष्टीकृत सेवा सहितको अस्पताल, धादिङ र चौतारा अस्पताललाई ५० शैया क्षमताको अस्पताल, रामेछाप र रसुवा अस्पताललाई २५ शैया क्षमताको अस्पतालमा स्तरोन्नति गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
१४. अस्पतालहरुमा कोभिड १९ को नियन्त्रण र उपचारका लागि औजार उपकरण व्यवस्था र अस्पतालको स्तरोन्नति तथा सुदृढीकरण गर्न रू. १२ करोड विनियोजन गरेको छु । सामुदायिक अस्पतालहरुको पूँजीगत सुधारका लागि समेत आवश्यक बजेटको व्यवस्था गरेको छु।