युवा रोजगार कार्यक्रम आजको आवश्कता हो : प्रतिनिधि सभा सदस्य कृष्ण राइ
कपन अनलाइन
काठमाडौँ, जेठ ३१ ।गोकर्णेश्वर नगरपालिकाले शुक्रबार आगामी आ.ब. ०७७/०७८ को नीति, कार्यक्रम र बजेट तर्जुमा गर्न राय, सल्लाह तथा सुझाब संकलन हेतु बिज्ञ संग छलफल सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिका जोरपाटी स्थित पिस ब्यांकेटमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि को रुपमा बोल्दै संघिय ससद माननीय कृष्ण बहादुर राइले स्थानीयतहहरुले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर आउदो आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने बताए । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ ले चुनौती सँगसँगै अवसरका ढोकाहरु समेत खुला गरेको बताउँदै हरेक स्थानीय तहहरुले आफनो क्षेत्राधिकार भित्रका श्रोत र साधन को अधितम उपयोग गर्दै सर्वाङ्गिन बिकाशका लागि बजेट केन्द्रीत हुनु पर्नेमा जोड दिए।
आधुनिक शैक्षिक प्रणाली शिक्षा प्रणाली र बेरोजगारको समस्या समाधानका लागि युवा रोजगार कार्यक्रम आजको आवश्कता रहेको बताउदै सांसद राईले नगरपालिकाले अल्पकालिन र दिर्घकालिन योजनाहरुमा बिशेष ध्यान दिनु पर्ने सुझाए ।उनले भौतिक पूर्वाधार निर्माण विकासले मात्र विकासको परिभाषा अपुरो रहने बताउदै सामाजिक एवं मानब विकासको स्तर उन्नतिमा जिम्मेवार निकायहरुको ध्यान जान सके समाजवाद त्यति टाढा नरहेको समेत जिकिर गरेका थिए ।
फोटो :सरोज बस्नेत