काठमाडौं महानगरपालिकाको कोषमा वडा नं ७ का स्थानीय दाताको ६ लाख ३० हजार सहयोग

काठमाडौं महानगरपालिकाको कोषमा वडा नं  ७ का स्थानीय दाताको ६ लाख ३० हजार सहयोग

कपन अनलाइन

काठमाडौं ,बैशाख २८।

काठमाडौं महानगरपालिकाको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषका लागि वडा नं  ७ का विभिन्न  स्थानीय दाताबाट ६ लाख ३० हजार रुपैयाँ संकलन भएको छ । यस रकममध्ये २७ गतेसम्ममा ९ वटा संस्था र ८ जना व्यक्ति गरी १७ संस्था तथा व्यक्तिबाट ४ लाख ९१ हजार रुपैयाँ जम्मा भइसकेको छ ।

त्यस्तै आज मात्र सहकारी र शैक्षिक संस्थाहरुबाट आज १ लाख ३९ हजार रुपैयाँ प्राप्त भएको छ । आज संस्थागत रुपमा सहयोग रकम उपलब्ध गराउनेहरुमा शुभप्रवा सेभिङ् एण्ड क्रेडिट कोअपरेटिभबाट १ लाख ११ हजार १११ रुपैयाँ, सेन्ट लरेन्स कलेजबाट ५५ हजार, बिनायक सिद्धि कलेजबाट ५० हजार प्राप्त भएको छ ।

त्यस्तै डियर वाक फाउन्डेसनबाट २५ हथार, गुडबिल बचत तथा ऋण सहकारीबाट १० हजार र व्यक्तिगत रुपमा सुरेन्द्र अधिकारीबाट ५ हजार प्राप्त भएको हो । वडामा आएका दाताहरुले महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई सहयोग रकम चेकमार्फत उपलब्ध गराउनुभएको हो ।

सहयोग रकम बुझिसकेपछि बोल्दै प्रमुख शाक्यले अहिले महामारी रोकथाम र नियन्त्रणका लागि जनप्रतिनिधिहरु व्यक्तिगत आकांक्षामाथि उठेर काम गरिरहेको बताउदै  वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य र कर्मचारीलाई लकडाउनको अनुभव नहुदा पनि बहादुरी पुर्वक लडेकोमा धन्यवाद दिएका थिए।

काठमाडौं उपत्यकामा अहिले भाइरसको संक्रमण नभएको उल्लेख गर्दै मेयर शाक्यले ढुक्क हुने अवस्था भने  भइनसकेकोले भौतिक दुरी कायम राख्न, सरकारी निर्देशनको पालना गर्न महानगरबासीलाई आग्रह गरेका थिए ।

वडा ७ का  वडाध्यक्ष शुद्धकुमार डंगोलले  आसपासमा उत्पादन भएको तरकारी खपत गर्न गोपीकृष्णनगर, मैजुबहालमा बजार सञ्चालन गरेको जानकारी दिदै तरकारी बजार जस्तै सुपथ खाद्य बजार, स्वास्थ्य सेवा तथा औषधोपचार पनि टोलटोलको पहुँचमा पुर्याउने योजना रहेको बताएका छन।

वडा नं ७  ले  हाल सम्म  ६ हजार ८०७ जनालाई वितरण गरेको राहतमध्ये दाताबाट ३ हजार १८३ जनालाई राहत सामाग्री उपलब्ध भएको वडा सचिव कविता राईले जानकारी दिनुभयो । यसबाहेक ३२ बोरा चामल, २ बोरा दाल, २०० के जि चिउरा, ५०० केजि आँटा, ३१८ प्याकेट नुन, १४ बक्स चाउचाउ र ९६ प्याकेट बिस्कुट उपलब्ध भएको छ ।फोटो सौजन्य : काठमाडौं अनलाइन

तपाइँको प्रतिक्रिया ।