एक समाचारको प्रभावले हजारौ भोको पेट भर्दै समाजसेवी होम बुढाथोकी
कपन अनलाइन
काठमाडौं ,बैशाख २१।
लकडाउनको कस्टमा खान नपाएर एउटा परिवारले आत्महत्या गरेको समाचारले पिरोलेर रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका वडा नं ५ का होम बुढाथोकीले शुरु गरेको प्रयास अहिले अभियान बनेको छ।
काठमाडौंको बसुन्धरा,बुढानिलकण्ठ र टोखा नगरपालिकाका एक हजार भन्दा बढी व्यक्तिहरुलाई भोजन उपलव्ध गराउने अभियानको जिम्मेवारी लिएका टोखा नगरपालिका वडा नं ५ बस्दै आएका बुढाथोकीले दैनिक ज्यालादारी गर्नेहरुको समस्या बुझेर निशुल्क भोजन अभियान शुरु गरेको बताए।
खाद्यान्नको राहत प्राप्त गरे पनि चुल्हो बल्ने सबै प्रवन्ध गर्न नसक्नेहरुका लागि शुरु गरेको पहलमा धेरै सहयोग र सदभाव प्राप्त भएको अनुभव गरेको भन्दै निर्माण सामाग्री व्यवसायी बुढाथोकीले आफ्नो दायित्व पुरा गर्दै सेवा गरेको बताए।
२०३१ शालमा रामेछाप जिल्लामा जन्मिएका उनले प्रयागेश्वर मावी (हाल क्याम्पस ) बाट एस एलसी पास गरेका बुढाथोकीले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन।
१५ वर्षको उमेरमा २०४६ शालमा राजनीतिक मुद्दामा जेल परे पश्चात राजनीतिक चेतना बलियो भएको बताउने बुढाथोकी तत्कालिन नेकपा एमालेको केन्द्रिय लेखा आयोगमा निर्वाचित भएका थिए।
बुढाथोकीले शुरु गरेको अभियानमा धेरै क्षेत्रमा सक्रिय व्यक्तित्वहरुले समर्थन र सहयोग गरेका छन भने काठमाडौं महानगरपालिका वडा नं ३ र टोखा नगरपालिका वडा नं ५ ले पनि साथ दिदै आएका छन।
रामेछाप जिल्लाको राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय रहेका बुढाथोकीले अभियान शुरु गरेको १० दिन सम्म व्यक्तिगत खर्चमा भोजन व्यवस्थापन गरिएको र पछिल्लो चरणमा धेरै मनकारी सहयोगीहरु थपिदै गएको बताए।
उनको पहलमा जनप्रतिनिधि,पत्रकार ,राजनीतिक व्यक्तित्व तथा समाजसेवीहरुले ऐकेवदत्ता जनाउदै दैनिक सो अभियानमा सहभागी बन्दै आएका छन।