बुढानिलकण्ठ -१३ चुनिखेलमा कम्युनिटी केयर नेपालको आकस्मिक रक्तदान
कपन अनलाइन
काठमाडौं ,बैशाख २०।
बूढानीलकण्ठ नगरपालिका वडा नं.१३ चुनिखेलमा कम्युनिटी केयर नेपालले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका छन । चुनिखेलस्थित हारमोनी किड्स स्कुलमा आयोजित रक्तदान कार्यक्रममा संघीय सभा सदस्य गगन कुमार थापा प्रमुख , विशेष अतिथिमा बागमती प्रदेश सार्वजनिक लेखा समितिका सभापति न्हुच्छे नारायण श्रेष्ठ नेपाली काङ्ग्रेस काठमाडौं ४(ख) का सभापति विनोद चालिसे सहित स्वयंसेवक तथा सहयोगीहरु सहभागी रहेका थिए ।
विश्व महामारी कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्नका निम्ति गरिएको लकडाउनको कारण ब्लड बैंकमा रगतको अभाव नहोस् भन्ने उदेश्यले आयोजना गरिएको रक्तदान कार्यक्रम अत्यन्तै सान्दर्भिक र प्रशंसनीय रहेको भन्दै प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले आयोजकलाई धन्यवाद दिएका थिए।
त्यस्तै बागमती प्रदेशसभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति न्हुच्छे नारायण श्रेष्ठले कोरोना संक्रमणको डर र लकडाउनको कारण मानिस घरबाट बाहिर निक्लने अवस्था नरहेको अवस्थामा रक्तदान गरेर मानिसको जीवन रक्षामा योगदान पुर्याउने कार्य सम्मानजनक रहेको बताउँदै आभार व्यक्त गरेका थिए।