बागमतीका मुख्यमन्त्री र गाउँपालिका अध्यक्षलाई धन्यवाद दिदै अलपत्र यात्रु गन्तव्य तर्फ लागे
कपन अनलाइन
मकवानपुर ,बैशाख ६ ।
काठमाडौ बाट पैदल आफ्नो गाउँ हिडेका अलपत्र मजदुरहरुलाई भिमफेदी गाउँपालीका सवारी व्यवस्थापन गरी गन्तव्यतर्फ पठाईएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामालाई पैदल यात्रीलाई यातायातको व्यवस्था गरि पठाउन निर्देशन दिनु भएको थियो ।
निर्माणाधीन भिमफेदि कुलेखानी सडक निरीक्षण गरि फर्कने क्रममा भिमफेदिमा रहेका पैदल यात्रीलाई गन्तव्यमा पठाउन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गाउँपालिका अध्यक्ष लामालाई गाडीको व्यवस्था आग्रह गर्दै सर्लाही हरीवन नगरपालिकाका मेयर गणेश प्रसाईलाई मुख्यमन्त्री पौडेलले टेलिफोन गरी हरीवनका यात्रुलाई लैजान सहजीकरणका गरेका थिए ।
आफ्नो गन्तव्य सम्म जाने सहज व्यवस्था भए संगै निकै हर्षित बनेका यात्रु हरुले मुख्यमन्त्री र गाउँपालिका अध्यक्षलाई धन्यवाद दिएका थिए ।
काठमाडौको विभिन्न स्थानमा मजदुरी गर्ने मकवानपुरको कैलाश गाउँपालिका र सर्लाहीको हरिवनका पैदल यात्रुहरूलाई जानको लागी गाउँपालिकाले यातायातको व्यवस्था गरेकोे थियो । मकवानपुरको कैलाश गाडीपालिकाका १० जना चेपाङ मजदुरलाई भिमफेदी गाउँपालिकाले यातायातको ब्यबस्था गरि गन्तव्यमा पुर्याएको छ ।
यस्तै सर्लाही जाने ५ जनाको टोलीलाई गाउँपालिका अध्यक्ष हिदम लामाले आफ्नो गाडीमा राखेर पथलैया पठाएका थिए । सर्लाहीको हरीवन नगरपालिकाका मेयर गणेश प्रसाइसङ्ग समन्वय गरेपछि हरीवनबाट लिनका लागि यातायातको व्यवस्था गरिएको भिमफेदी गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए ।
घर जान उनीहरु बिहान ५ बजे काठमाडौबाट हिडेर अपरान्ह करीब ४ बजे भिमफेदी आईपुगेका थिए । उनीहरुलाई गाउँपालिकाले स्थानीय दम्की रक्स क्लबको समन्वयमा खानाको व्यवस्था गरेको थियो ।