शंखधर पार्क निर्माणका लागि मध्यपुर थिमी नगरलाई काठमाडौं महानगरको १ करोड अनुदान
कपन अनलाइन
काठमाडौं माघ १६ । काठमाडौं महानगरपालिकाले मध्यपुर थिमी नगरलाई अन्तरनगर साझेदारी कार्यक्रमअन्तर्गत १ करोड रुपैयाँ अनुदान रकम प्रदान गरेको छ ।
नगरको वडा ४ मा पर्ने शंखधर पार्क निर्माणका लागि उपलब्ध गराएको उक्त अनुदान रकम बुधबार महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले थिमीका नगर प्रमुख मदनसुन्दर (जगुलु) श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । नगर प्रवेशद्वार नजिक आयोजना गरिएको सम्झौता तथा रकम हस्तान्तरण पछि मेयर शाक्यले पार्क निर्माणको शिलान्यास गरेका थिए ।
कार्यक्रममा बोल्दै महानगरका प्रमुख शाक्यले यस प्रकारको साझेदारि काठमाडौं जिल्लाबाहिरका नगरसँगको पहिलो भएको
उल्लेख गरे । काठमाडौं जिल्लाका सबै नगरलाई सार्वजनिक जग्गा संरक्षण गर्न, हरियाली बढाउन तथा पार्क निर्माण गर्न १ १ करोड रुपैयाँ अनुदान दिएका छौं । हामी महानगरको व्यवस्थापनसँगै आसपास अन्य नगरसँगको साझेदारिताबाट बिकासमा साझेदारिता गरिरहेका छौं । उनले भने मध्यपुर थिमीसँगको सहकार्यबाट हाम्रो क्षेत्र थप बिस्तार भएको छ ।
सो कार्यक्रममा मध्यपुर थिमीका प्रमुख मदनसुन्दर श्रेष्ठले महानगरबाट उपलब्ध भएको अनुदान रकमबाट निर्माण हुने पार्कबाट नगरबासीलाई लाभ पुग्ने बताए । नगरको समृद्धिकालागि हामीले आन्तरिक र बाह्य दुवै प्रकारका श्रोत परिचालन गरेको मेयर श्रेष्ठले बताए ।
पार्क निर्माणका लागि १७ करोड रुपैयाँको गुरुयोजना तयार पारिएको छ । शुरुमा १७ रोपनी क्षेत्रफलबाट काम थालनी गरिनेछ । त्यसपछि क्रमशः जोडिएको ५३ रोपनी जग्गामा पार्क बिस्तार गर्ने नगरको योजना छ ।
फोटो सौजन्य : काठमाडौँ अनलाइन