बुढानिलकण्ठ नगरपालिका – १ मा अपराध नियन्त्रण, लागू औषध र घरेलु मदिरा उत्पादन र कारोबारका विषयमा छलफल कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं, माघ १३। बिहान माघ १३ गते प्रहरी समुदाय साझेदारी अन्तर्गत बुढानिलकण्ठ प्रहरी प्रभाग, सामुदायिक प्रहरी, बुनपा १ वडा समिती र यस वडाका भद्रभलाद्मी समाजसेवी विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा अपराध नियन्त्रण, लागू औषध र घरेलु मदिरा उत्पादन र कारोवार एवं अन्य बिषयमा छलफल सम्पन्न भएको छ।
उक्त छलफलमा स्थानिय र भाडामा बसि घरेलु मदिरा उत्पादन र बिक्री वितरण गर्ने कार्यलाई बिस्तारै न्यूनीकरण गर्दै जाने र भविष्यमा निर्मुल नै गर्ने लक्ष्यका साथ अघि बढ्नु पर्ने उपस्थित महानुभावहरुको भनाइ रहेको थियो। सो कार्य गर्दै जिविकोपार्जन गर्नेहरुलाइ वैकल्पिक काममा आवश्यक सहयोग गर्ने कुरा पनि वडा अध्यक्ष सुरेन्द्र लामाले प्रष्ट पारेका थिए।
बुढानीलकण्ठ नगरपालिका प्रहरी प्रभागका प्र.नि भुपेन्द्र गिरिले पनि समाजमा हुने अवान्छित घटना तथा अपराधिक गतिविधी रोकथामका लागि आफू हरपल लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
बुनपा प्रहरी प्रभाग प्र.नि भुपेन्द्र गिरिकै अगुवाइमा केही दिन मात्र बुनपा वडा नं २ कामिटारमा ठूलो मात्रामा घरेलु मदिरा उत्पादन गर्ने स्थानमा कारवाही गरिएको थियो। जहाँ मदिरा बनाउने कच्चा पदार्थमा विभिन्न प्रकारका अखाद्य वस्तु युरिया मल, स्यानेटरी प्याड, लगायत मरेका पशुको आन्द्राभुडी समेत बरामद गरिएको थियो।
सोही साझेदारी कार्यक्रम अन्तर्गत बुढानीलकण्ठ प्रहरी प्रभागद्वारा नगरपालिका भित्र विभिन्न किसिमका सन्देशमुलक र महत्वपूर्ण कार्यक्रमहरूको आयोजना तथा सञ्चालन गर्दै आइरहेको छ।
फोटो सौजन्य:बिएसजी